झापा : पूर्वी सीमा नाका काँकरभिट्टामा नेपाल प्रवेश गर्ने पर्यटक तथा उपचारका लागि आएका बिरामी यात्रीमाथि हुने दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले कडाइ थालेपछि २४ जनालाई नियन्त्रणमा लिई चेतावनीसहित छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतका विभिन्न स्थानबाट विशेषगरी आँखा उपचारका लागि आउने बिरामी र पर्यटकलाई लक्षित गर्दै बसपार्क, बजार क्षेत्र तथा मेची भन्सार आसपास ‘बिचौलिया समूह’ सक्रिय भई जबरजस्ती होटल, अस्पताल तथा अन्य सेवामा लैजान खोज्ने, झुक्याउने र हैरानी दिने गतिविधि बढ्दै गएको गुनासो आएको थियो।
सोही आधारमा परिचालित विशेष प्रहरी टोलीले यात्रुलाई तानातान गरी दुःख दिने २४ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई तत्काल सम्झाइबुझाइ गरी छाडिएको भए पनि यस्ता गतिविधि दोहोरिएमा कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही व्यक्तिहरूले धार्मिक स्थल घुमाइदिने, सस्तो उपचार गराइदिने वा सस्तो बसोबासको व्यवस्था गरिदिने बहानामा यात्रु झुक्याउने गरेका थिए। यसले सीमा नाकामा अस्तव्यस्तता मात्र होइन, यात्रुको सुरक्षामा समेत गम्भीर जोखिम सिर्जना गरिरहेको थियो।
प्रहरीको पछिल्लो सक्रियतापछि काँकरभिट्टा क्षेत्रमा यस्ता अवाञ्छित गतिविधिमा कमी आउने र यात्रु आवागमन थप व्यवस्थित तथा सुरक्षित हुने अपेक्षा गरिएको छ।
साथै, स्थानीय प्रशासनले नाकामा अनुगमन थप कडाइ गर्ने र आवश्यक समन्वयमार्फत दीर्घकालीन समाधान खोज्ने तयारी गरेको जनाएको छ।














Discussion about this post