खोटाङ : जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।
बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।
करिब एक किलोमिटर क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार पुख्र्यौली थातथलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन्। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयले जनाएको छ।
बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म फैलिएको छ। यसले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायत गाउँ जोखिममा परेका छन्। वडा वा गाउँपालिकाको बजेटले नियन्त्रण गर्न नसकिने भएकाले सम्बन्धित निकायले तत्काल दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्नुपर्ने उनले बताए।
गाउँपालिकाका अनुसार बोपुङसहित अन्य वडाहरू पनि पहिरोको उच्च जोखिममा छन् भने देविस्थान क्षेत्रका धानबालीमा पनि बर्सेनि ठूलो क्षति हुँदै आएको छ।





















Discussion about this post