विराटनगर : विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश २ को सप्तरी राजविराजले जितेको छ ।
उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको छ भने उपविजिता जनकपुरले ५१ हजार र ट्रफीमा चित्त बुझायो ।
विराटनगर १९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा प्रदेश २ कै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो ।
राजविराजका लागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए ।
जनकपुरका सुमन रायले ४ ओभरमा ए रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकास दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुव आलम १ विकेट लिए ।
फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनीहरूले नगद ११ हजार पुरस्कार पाए ।
उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरू दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।
विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूवै प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।
प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको बीरगञ्ज महानगरपालिका, जनकपुरधाम उपनगरपालिका र राजविराज नगरपालिका सहभागी थिए ।
Discussion about this post