विराटनगर : विराटनगर महानगरपालिकाले बेरोजगार रहेका युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अगाडि सारेको छ ।
महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी गरेको छ ।
महानगर र स्वीस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा बेरोजगार युवाहरुलाई सीप तथा क्षमता विकासको तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
ई–रिक्सा मर्मत तालिमका लागि ४० र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि ४० जनाको कोटा तोकिएको छ । तालिमका लागि विराटनगर महानगरमा स्थायी बसोबास गरेका व्यक्तिलाई प्राथमिकता राखिने मेयर नागेश कोइरालाले बताए ।
‘हातमा सीप भएमा जहाँसुकै पनि काम पाउन सकिन्छ,’ मेयर कोइरालाले भने, ‘सीप भएमा जागिर खानैपर्छ भन्ने छैन । आफैँ स्वरोजगार पनि हुन सकिन्छ । महानगरको उद्देश्य पनि युवाहरुलाई स्वरोजगार बनाउने रहेको छ ।’
मेयर कोइरालाले जागिर खानका लागि डिग्रीको सर्टिफिकेटसँगै हातमा सीप हुनुपर्नेमा जोड दिए । युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न योजना ल्याएको उनको भनाइ छ ।
ई–रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटरका लागि सामान्य सिलाई कटाईको अनुभव भएको हुनुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराुजलीले जानकारी दिए ।
उनले आवश्यक कागजातका साथ आवेदन फारम भर्न आग्रहसमेत गरे ।














Discussion about this post