मोरङको विराटनगरमा रहेर लामो समयदेखि कविता तथा आख्यान विधामा कलम चलाइरहेकी साहित्यकार सीमा आभासको पछिल्लो समय ‘महायुग’ उपन्यास प्रकाशित भएको छ । २०८२ सालको मदन र पद्मश्री पुरस्कारको अन्तिम सूचीमा समेत पर्न सफल भएकी उनीसित टाकुरा न्यूजको विशेष शृङ्खलाका रूपमा साहित्यिक संयोजक राज भट्टराईले गरेको कुराकानीलाई समावेश गरिएको छ ।
प्रस्तुत छ सीमा आभाससँग गरिएको कुराकानीको अंश –
१. मदन पुरस्कारको अन्तिम सूचीमा परेर पनि पुरस्कृत नहुुनुलाई कसरी लिनुभएको छ ?
➜ मदन पुरस्कार जम्मा एउटा कृतिले पाउने हो । छानिएका दशवटा कृति हुन् । त्यसैले नौ वटाले नपाउने नै हुन् । त्यसमा खासै चित्त दुखाउनुपर्ने कुरा छैन । दशवटाभित्र पर्नु पनि ठूलो कुरा हो ।
२. मदन पुरस्कारको घोषणा भइसकेको छ । पुरस्कृत कृति र स्रष्टाबारे तपाईँ के भन्नुहुन्छ ?
➜ मदन पुरस्कार पाउने कृतिकी स्रष्टाप्रति मेरो अगाध सम्मान छ । मेरो हजुरआमाको उमेरकी हुनुहुँदोरहेछ । त्यो समयमा एउटी छोरी मान्छेले पढ्नु, नाच्नु, अध्ययन, चिन्तन, खोज गर्नु चानचुन विषय होइन । यो उमेरमा आएर वहाँले लेखेको कृतिले मदन पुरस्कार पायो । लेखन तपस्या हो भन्ने बलियो आवाज दिनुभएको छ ।
३. तपाईंको उपन्यास लेखिँदै गर्दा तपाईंको मनमा रहेको मूल प्रश्न के थियो ? उपन्यास प्रकाशित भएपछि पाठकले त्यसलाई कसरी बुझ्लान् भन्ने कुराले तपाईंलाई कति प्रभावित गरेको छ ?
➜ मेरो चेतनाले मभित्र जागृत भएको कुरा समाजलाई भन्नु थियो । कति कुरा त कवितामार्फत पनि भनेँ । त्यसले मात्र तृप्ति नदिएपछि उपन्यास लेखेँ । मैले समयलाई पर्खिएर पटकपटक लेखेर आफूलाई चित्त बुझेपछि मात्र छापेकी हुँ । पहिला लेखक आफ्नो लेखनसँग सन्तुष्ट भयो भने पाठकले पनि लेखनसँग सन्तुष्टि पाउँछन भन्ने लाग्छ । केही विषयहरू क्लिष्ट भए भन्ने कुरा पनि छ । केही नयाँ विषय भएकाले अपरिचितजस्तो लागेको हो । क्रमैसँग बुझिन्छ ।
४. नेपाली समाज तीव्र रूपमा परिवर्तन भइरहेको छ । आजको नेपाली समाजलाई साहित्यले कति समेट्न सकेको छ ?
साहित्य समाजभन्दा बाहिर गएकै हुँदैन । समाजभित्रकै उत्पादन भएकाले नेपाली समाजमा बसेर लेखेको साहित्यले नेपाली समाजलाई समेटेकै छ । तर हामीले साहित्यमा लेख्न बाँकी थुप्रै विषयहरू प्रशस्त छन् ।
५. अहिलेका नेपाली उपन्यासहरूमा समाजका वास्तविक समस्या बढी छन् कि लेखकको कल्पना बढी ?
➜ उपन्यासको कल्पना पनि यथार्थको नजिक हुन्छ । समाजसँगको घुलमिलपछि आउने कल्पनाको उपज हुन्छ उपन्यास । वास्तविक भनिएका विषय पनि कल्पना नै हुन् । यदि वास्तविक भनेर कल्पना लेखिएन भने त्यो रिपोर्ताज हो, समाचार हो ।
६. सामाजिक सञ्जालको विस्तारसँगै मानिसको पढ्ने बानी परिवर्तन भएको छ । के पुस्तक पढ्ने संस्कृति कमजोर हुँदै गएको हो, वा पढ्ने माध्यम मात्र बदलिएको हो ?
➜ धेरैले उठाएको विषय हो । पढ्ने संस्कृति कमजोर भएर गएकै छैन । जो स्थापित हुन् तिनीहरू पढ्दैनन् । अनि अरुलाई पनि त्यस्तै देख्छन् । यदि नपढ्ने हो भने यतिका धेरै प्रकाशनगृह जो निजी लगानीमा सञ्चालन भइरहेका छन् । पुस्तकहरू छापिइरहेका छन् । प्रकाशनगृह नाफामा नै गइरहेका होलान् । नगएका भए त नयाँ किताब छाप्ने थिएनन् । सामाजिक सञ्जालले पुस्तकलाई केही फरक पार्दैन । पढ्नेले जसरी पनि पढ्छ । तर, रुचिअनुसारको कृतिचाहिँ हुनुप¥यो । जे जे छापियो त्यो त्यो पढ्छन् भन्नेचाहिँ छैन ।
७. टिकटक, फेसबुक, युट्युब र एआईको समयमा उपन्यास लेख्नु र उपन्यास पढाउनु कत्तिको चुनौतीपूर्ण भएको छ ?
➜ समय सबैको अलगअलग हो । सबैभन्दा ठूलो चुनौति भनेको पाठकले मन पराउने कृति लेख्न हो । मनपर्ने लेख्न सकियो भने पाठक त छन् ।
८. कृत्रिम बौद्धिकताले लेखन क्षेत्रमा प्रवेश गरिसकेको छ । भोलि यसले उत्कृष्ट उपन्यास लेख्न सक्यो भने मानवीय लेखकको आवश्यकता के रहन्छ ? द्वन्द्व त हुने होइन ?
➜ एआइको विज्ञ म नभएकाले द्वन्द्व हुने नहुने बारेमा त बताउन सक्दिनँ । तर, साहित्य हृदयले लेखिने हुनाले एआइको हृदयचाहिँ हुँदैन । मष्तिस्कले लेखेको साहित्य समयान्तरालमा मेटिएर जान्छ । हृदयले लेखेको साहित्य अमर हुन्छ । किन कि आदिमकालदेखि आजपर्यन्त संसारका मान्छेको हृदयले बोल्ने भाषा एकै हो । साहित्य लेख्दा प्रयोग हुने हृदयको भाषा एआइसँग हुँदैन ।
९. आजका युवा विदेश जाने सपना देखिरहेका छन् । नेपाली साहित्यमा युवाको विदेश पलायन, निराशा र भविष्यप्रतिको अनिश्चितता पर्याप्त रूपमा अभिव्यक्त भइरहेको छ कि बाँकी नै छ ?
➜ केही मात्रामा त आएका छन् । नेपाली लेखकहरू विदेशी कामदारको रुपमा काम गर्नेहरू हुनुहुन्छ । वहाँहरूले थुप्रै लेख्नु भएको छ । विदेशमा बसेर साहित्य लेख्नेहरूले कहीँ न कहीँ तपाईँले उठाउनुभएको विषय व्यक्त गरिरहनुभएको छ ।
१०. तपाईंको दृष्टिमा आजको नेपाली समाजको सबैभन्दा ठूलो कथा के हो, जसलाई लेखकहरूले अझै पर्याप्त लेख्न सकेका छैनन् ?
➜ हामीले दशवर्षे माओवादीले गरेको युद्धको कथा लेख्न सकेका छैनौँ । यस बारेमा थुप्रै विषय हुनसक्थे । अलिअलि त लेखिएको छ । यसलाई विषय बनाएर जसरी लेखिनुपथ्र्यो त्यसरी लेखन सकिएको छैन । अनि हिमालसँग जोडिएर लेखिने साहित्य पनि लेख्न सकिएको छैन । हिमाली साहित्य लेखेर विश्व बजारमा जान सकिन्छ होला जस्तो लाग्छ । यो काम बाँकी छ । यस बारेमा लेख्ने मेरो धोको छ । समयले साथ दियो भने म लेख्नेछु ।
११. नेपाली साहित्यमा महिला लेखकका लागि अहिले पनि कुनै अदृश्य चुनौती वा विभेद छ जस्तो लाग्छ ? छ भने त्यो के हो ?
➜ लेखनमा चुनौती सबैलाई हुन्छ । तुलनात्मक रूपमा महिलालाई बढी हुन्छ । पहिलाको अनुपातमा हामी अलिक बढी स्वतन्त्र त भयौँ । तर पुराना जञ्जिरहरू तोड्दै गर्दा नयाँ जञ्जिरहरू निर्माण पनि भइरहेका छन् । लुगा, गहना, शृङ्गारले पनि महिलाहरूको दिमागलाई अलमल्याइरहेको छ । जुन हामीले तत्काल अन्दाज गर्न सकिरहेका हुँदैनौँ । साहित्य लेख्नको लागि धेरै कुराहरूबाट मुक्त भएर स्वतन्त्र ढङ्गले सोच्न पनि महिलाहरूले अवसर पाएका हुँदैनन् । जबसम्म स्वतन्त्र ढङ्गले सोच्नुपर्ने समयमा ससाना विषयमा अल्झिन्छ, तबसम्म लेखनमा भनेजसरी शक्ति दिन सकिँदैन ।
श्रीमान्–श्रीमतीको सम्बन्ध रिन्यू गरिरहनुपर्छ । जसले रिन्यू गर्न सकेन भत्किहाल्छ । बुहारी हुनु भनेको चाहिँ भएभरका सबैले आग्रह राख्छन् । आमा हुनु व्याख्या बाहिरको कुरा रहेछ । कुनै सिद्धान्त, दर्शनले नसमेट्ने भूमिका रहेछ आमा हुनु । गतिलो लेख्नु एउटा चुनौती, लेखेपछि यत्रो बजारसँग भिड्नु अर्को चुनौती छ । तर, जे जे भूमिका निभाइएको छ त्यसमा म ज्यूँदै छु भनेर दिएको तागतिलो आवाज हो ।
१२. महिला लेखकले लेखेका कृतिलाई साहित्यिक मूल्यभन्दा लेखकको लैङ्गिक पहिचानबाट मूल्याङ्कन गर्ने प्रवृत्ति अझै छ कि हराएर गयो ?
➜ त्यो त के हराउँथ्यो ? अहिले पनि कतिपय वरिष्ठ पुरुष लेखकहरू हामीले लेखेका कृतिलाई कृतिको रुपमा स्वीकार नै गर्नुहुन्न । पढ्नुहुन्न । अहिले पनि केही वरिष्ठ लेखकहरू साहित्यको मापन लिङ्ग हेरेर गर्नुहुन्छ ।
१३. तपाईंको उपन्यासमा व्यक्तिगत अनुभव र सामाजिक यथार्थमध्ये कुन पक्ष बढी प्रभावशाली छ ?
➜ व्यक्तिगत अनुभव नभई कल्पनाशीलता आउँदैन । ती अनुभव नै समाजका यथार्थ हुन् । उपन्यासमा दुई भाग छ । पहिलो भागमा भोगेको देखेको समाज छ । दोस्रो भागमा चाहेको समाज छ । कुन प्रभावशाली भनेर चै पाठकले छुट्याउन सक्नुहुन्छ ।
१४. लेखकले समाजको आलोचक बन्नुपर्छ कि समाजको ऐना मात्र बन्नुपर्छ ? तपाईँ त्यसमध्ये केमा पर्नुहुन्छ ?
➜ ऐना र आलोचक दुवै बन्नुपर्छ । अब त आफ्ना कृतिको समालोचक पनि बन्नुपर्ने अबस्था आएको छ । समाजका सत्य कुरा लेख्नको लागि ऐना बन्नुपर्छ । समाजलाई सही दिशामा लैजाने आवाज उठाउनका लागि आलोचक बन्नुपर्छ । साथै, समालोक अत्यन्त लुलो भएको यो घडीमा स्वयं लेखक समालोचक पनि बन्नुपर्ने अवस्था निर्माण भइरहेको छ ।
१५. अहिलेको साहित्यमा राजनीतिक चेतना र राजनीतिक आग्रहबीचको सीमा कहाँ हुनुपर्छ ? सीमा छ कि राजनीतिक पूर्वाग्रह हाबी भइसकेको छ ?
➜ राजनीतिक चेतना नभएको साहित्यलाई साहित्य नै मान्न सकिँदैन । महाभारत राजनीतिक चेतना भएको ग्रन्थ होइन र ? आग्रह र पूर्वाग्रहलाई लेखिएका साहित्य कदापि साहित्य हुन सक्तैन । यहाँ बिग्रिएको चाहिँ आग्रह–पूर्वाग्रहलाई साहित्य भनेर हो । पूर्वाग्रहपूर्वक लेखिएको केहीको पनि आयु हुँदैन । त्यसैले चेतपूर्वक सजग भएर लेख्ने लेखकहरूले निर्धक्कका साथ लेखिरहनुभएको छ ।
१६. नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाले तपाईंको लेखनलाई कस्तो प्रभाव पारेको छ ?
➜ म यही समाजकी उत्पादन हुँ । यसले मलाई प्रभाव नपार्ने भन्ने सवाल नै छैन । तर, समाजमा मेरो व्यक्तिगत विषय र लेखकको रुपमा म अलगअलग हुँ ।
१७. पुरस्कारले लेखकलाई प्रोत्साहन गर्छ, तर पुरस्कारसँगै अपेक्षा पनि बढ्छ । पुरस्कृत सर्जकका त्यसपछि आउने कृति कतिपय झुर पनि निस्किएका छन् भनिन्छ । पुरस्कार के हो, नैतिक बन्धन कि नियमित आकस्मिकता ?
➜ एउटा सजग लेखकले सबैभन्दा पहिला पुरस्कार स्वीकार गर्नुअघि थाहा पाउनुपर्छ त्यो पुरस्कार कसले स्थापना गरेको हो ? उद्देश्य के हो ? त्यसरी स्थापना भएको पुरस्कार स्वीकार गर्ने या नगर्ने भन्ने बारेमा जान्नु जरुरी छ । कोहीहरू पुरस्कारकै लागि हत्ते–हिरिक कसेको देखिन्छ । पुरस्कार पाउनु र लेख्नु अलग विषय हुन् जस्तो लाग्छ । बदनामी नकमाएको पुरस्कार छ भने त ठिक हुन्छ । नत्र मलाई चाहिँ सबैखालका पुरस्कारमा खासै रुचि छैन । त्यही भएर म धेरै पुरस्कारबाट अलग छु । अलग बस्न पनि चाहन्छु ।
१८. मदन पुरस्कारजस्ता प्रतिष्ठित पुरस्कारका छनोट प्रक्रियालाई लिएर समय–समयमा प्रश्न उठ्ने गर्छन् । तपाईंको विचारमा नेपाली साहित्यिक पुरस्कारहरू कति पारदर्शी र समावेशी हुन सकेका छन् ?
➜ यसबारेमा मलाई खास जानकारी छैन । मदन पुरस्कारको छनोट प्रक्रिया पनि मलाई थाहा छैन । तर, समयसमयमा खास गरी मदन पुरस्कारको विरोधमा कुरा गरेको चाहिँ सुनेकी छु । तर कुरो केके हो चाहिँ थाहा छैन । सबै कुरा पारदर्शी हुनुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन । गोप्य कायम गर्नुपर्ने विषयलाई गोप्य बनाउनु जरुरी पनि हुन्छ ।
१९. अहिले नेपाली पुस्तकको बिक्री र बजारबारे विभिन्न धारणा चिन्ता पनि छन्, तपाईंको अनुभवमा नेपाली पाठक बढिरहेका छन् कि राम्रा पुस्तकको पहुँच मात्र बढेको हो ?
➜ यसबारेमा लेखकहरूले भन्दा पनि प्रकाशकहरूले राम्ररी भन्न सक्नुहुन्छ जस्तो लाग्छ । पाठक बढेका घटेका के हुन् भनेर अन्दाज चाहिँ गरेर ठोकुवा गरिन्छ । खासमा यो अनुसन्धानको विषय हो ।
२०. नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकसम्म पुर्याउन सबैभन्दा ठूलो बाधा के हो—भाषा, अनुवाद, बजार वा साहित्यिक संरचना ?
➜ अनुवाद राम्रोसँग गर्न ढिला भइसकेको छ । अनुवाद गर्नसक्ने हो भने एकसे एक साहित्यिक कृतिले नेपाली साहित्य भरिन थालेको छ ।
२१. तपाईं आफैँले आफ्नो उपन्यासलाई अर्को भाषामा अनुवाद भएको हेर्न पाउनुभयो भने कुन भाषाका पाठकसम्म पहिले पुग्न चाहनुहुन्छ र किन ?
➜ सबैभन्दा पहिला अङ्ग्रेजी भाषमा लैजान चाहान्छु । त्यसमा लैजान सकियो भने धेरै भाषामा जाने बाटो खुल्छ ।
२२. अहिलेका युवा लेखकहरू धेरै छिटो चर्चामा आउन चाहन्छन् । साहित्यमा धैर्य र निरन्तरताको महत्त्व कति छ ?
➜ साहित्य भनेकै धैर्य र निरन्तरता हो । यसपालि मदन पुरस्कार पाउनुभएकी लेखिकालाई हेरेर पनि भन्न सकिन्छ– लेखन, अनुसन्धान भनेको धैर्य र निरन्तरताको अर्को नाम हो । आत्तिएर हुँदैन । पर्खनुपर्छ ।
२३. तपाईंले लेखेको कुनै पात्रलाई वास्तविक जीवनमा भेट्नुभयो भने त्यो कुन पात्रसँग के कुरा गर्न चाहनुहुन्छ ?
➜ म रिपुमर्दिनीदेवीसँग भेटेर उपन्यासमा त्रिमातालाई हिमाल सफा पठाइएको छ । साँच्चै पनि ती त्रिमातालाई आह्वान गरेर हिमाल सफा गराइदिन लगाउनुस् भन्ने थिएँ ।
२४. नेपाली साहित्यमा आलोचनाको अवस्था कस्तो छ ? आलोचकले लेखकलाई असहज बनाउनुपर्छ कि प्रोत्साहित ?
➜ आलोचना, समालोचना प्राज्ञिक हिमाबले अलिक कम छन् । पाठकका समालोचना, आलोचना सामाजिक सञ्जालमा सबैभन्दा बढी आइरहेका हुन्छन् । यसले मेरो हकमा प्रोत्साहन नै गरिरहेको हुन्छ ।
२५. लेखकले आफ्नो कृतिमाथि आएका नकारात्मक प्रतिक्रियालाई कसरी लिनुपर्छ ? सबै आलोचना स्वीकार गर्नुपर्छ कि लेखकले आफ्नै दृष्टिमा अडिग रहनुपर्छ ?
➜ कमजोरीमाथि बोलिदिएको, लेखिदिएको छ भने धन्यवाद दिनुपर्छ । पूर्वाग्रह छ भने बेवास्ता गर्ने । म भिड्नचाहिँ जान्नँ ।
२६. नेपाली साहित्यमा अबको दशकमा कुन विषय वा प्रवृत्तिले ठूलो प्रभाव पार्ला भन्ने तपाईंलाई लाग्छ ?
➜ मैले यसको केही अन्दाज गर्ने आधारलाई हेर्दा अध्यात्म र दर्शनमाथि मान्छेले लेख्नेछन् । किनकि हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो । एउटा व्यक्ति परिवर्तन चाहन्छ भने उसले पहिला अध्यात्म र दर्शन बुझ्नु जरुरी छ ।
२७. लेख्न बस्दा तपाईंलाई सबैभन्दा बढी प्रेरणा दिने वस्तु वा वातावरण के हो ?
➜ मेरो अनुभव र दृष्टिकोण नै हो जस्तो लाग्छ ।
२८. लेखक नभएको भए तपाईं के बन्नुहुन्थ्यो ?
➜ राजनीति गरेर गतिलो नेता हुने इच्छा थियो । यता मोडिएँ । राजनीतिमा अझै चासो छ ।
२९. तपाईंको लेखनबारे परिवार वा निकट साथीहरूको प्रतिक्रिया कस्तो हुन्छ ?
➜ कोही साथीहरू गर्व गर्छन्, कोही सुझा दिन्छन् । मेरा असल साथीहरू छन् । परिवारले साथ नदिएको भए यसरी लेख्न बोल्न कहाँ सक्थेँ र ?
३०. तपाईंको पुस्तक पढेर कुनै पाठकले दिएको सबैभन्दा सम्झनलायक प्रतिक्रिया के हो, याद छ ?
➜ थुप्रै छन् । आज मात्र एकजना साथीले अष्ट्रेलियाबाट फोन गरेर भनेको थियो – उपन्यासमा सुकुम्बासी बस्तीको कथा थियो । त्यो भत्कियो । पृथ्वीमा प्रलय आउने कुरा छ । भोटेकोशीमा आयो । हिमाल सफा गर्ने कुरा छ । त्यो पनि अब विषय उठ्ने नै छ । अगाडि कसरी थाहा भयो लेखकलाई भनेर सोधेको कुरा सम्झिरहेकी छु ।
३१. एउटी श्रीमती, बुहारी, आमा र आमा महिला भएर लेखक हुनुमा सबैभन्दा बढी चुनौती के र कसरी छ ?
➜ श्रीमान्–श्रीमतीको सम्बन्ध रिन्यू गरिरहनुपर्छ । जसले रिन्यू गर्न सकेन भत्किहाल्छ । बुहारी हुनु भनेको चाहिँ भएभरका सबैले आग्रह राख्छन् । आमा हुनु व्याख्या बाहिरको कुरा रहेछ । कुनै सिद्धान्त, दर्शनले नसमेट्ने भूमिका रहेछ आमा हुनु । गतिलो लेख्नु एउटा चुनौती, लेखेपछि यत्रो बजारसँग भिड्नु अर्को चुनौती छ । तर, जे जे भूमिका निभाइएको छ त्यसमा म ज्यूँदै छु भनेर दिएको तागतिलो आवाज हो ।
३२. महायुगको लेखनमा अनेक प्रयोग गर्नुभएको छ । पाठकलाई असाधारण कल्पनाशीलता समेटिएको भान हुन्छ । लेखनमा कुन आध्यात्मिक वा सांस्कृतिक प्रभाव हो ?
➜ लेख्दाचाहिँ असाधारण कल्पनाशीलता छ भन्ने थाहा पाएकी थिइनँ । अहिले पाठकले प्रतिक्रिया दिएपछि थाहा पाएँ । मलाई यो कुरा असाधारण लागेको छैन । मलाई अझैँ बाँकी कुरा लेख्नुछ । आध्यात्मिक र सांस्कृतिक दुवै प्रभाव हो भन्ने लाग्छ । पूर्वीय दर्शनसँग मलाई विशेष झुकाव छ ।
३३. कवि सीमा आभास र उपन्यासकार सीमा आभासमा के कति फरक छन् ?
➜ खास फरक छैन । म व्यक्ति र म लेखकमा चाहिँ फरक नै छु होला जस्तो लाग्छ । कवि र उपन्यासकारमा खास अन्तर छैन ।
३४. ज्ञानका हिसाबले आख्यानमा भन्दा कुनै अनुसन्धानात्मक कृतिबाट पाठकलाई लाभ हुनसक्छ भनिन्छ, तपाईँलाई आख्यान नै लेख्न किन मन लाग्यो ?
➜ म आफूलाई ज्ञान बाँड्नुभन्दा कल्पनाशीलतामा बढी रमाउन मन भएकाले आख्यानतिर लागेकी हुँ । कल्पनाशीलता भनेको ज्ञान र विज्ञानको जननी हो ।
३५. कुनै अर्को विधा वा कृतिको तयारीमा पो हुनुहुन्छ कि ?
➜ एउटा नाटक, कवितासङ्ग्रह, कथासङ्ग्रह तयार छ । अब क्रमैसँग निकाल्नेछु ।
३६. अबका दिनमा कोही साहित्य लेखेर बाँच्न सक्छ ?
➜ लेखेर बाँच्ने लेखकहरू छन् । म पनि लेखेरै बाँच्छु भनेर कम्मर कस्दै छु । हेरौँ, कतिको सकिन्छ ।
३६. पाठकलाई बुझाउनुपर्ने वा भन्नुपर्ने कुनै कुरा बाँकी छन् ?
➜महायुग उपन्यास पढ्नेहरूलाई धन्यवाद । पढ्न बाँकीहरूले पढिदिनुस् ।

















Discussion about this post