Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

राज भट्टराई by राज भट्टराई
अशोज १, २०८३
in FEATURE BREAKING, अन्तर्वार्ता, टाकुरा विशेष, विविध
0
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)
49
SHARES
Share on FacebookShare on Twitter

मोरङको विराटनगरमा रहेर लामो समयदेखि कविता तथा आख्यान विधामा कलम चलाइरहेकी साहित्यकार सीमा आभासको पछिल्लो समय ‘महायुग’ उपन्यास प्रकाशित भएको छ । २०८२ सालको मदन र पद्मश्री पुरस्कारको अन्तिम सूचीमा समेत पर्न सफल भएकी उनीसित टाकुरा न्यूजको विशेष शृङ्खलाका रूपमा साहित्यिक संयोजक राज भट्टराईले गरेको कुराकानीलाई समावेश गरिएको छ ।

प्रस्तुत छ सीमा आभाससँग गरिएको कुराकानीको अंश –

१. मदन पुरस्कारको अन्तिम सूचीमा परेर पनि पुरस्कृत नहुुनुलाई कसरी लिनुभएको छ ?
➜ मदन पुरस्कार जम्मा एउटा कृतिले पाउने हो । छानिएका दशवटा कृति हुन् । त्यसैले नौ वटाले नपाउने नै हुन् । त्यसमा खासै चित्त दुखाउनुपर्ने कुरा छैन । दशवटाभित्र पर्नु पनि ठूलो कुरा हो ।

२. मदन पुरस्कारको घोषणा भइसकेको छ । पुरस्कृत कृति र स्रष्टाबारे तपाईँ के भन्नुहुन्छ ?
➜ मदन पुरस्कार पाउने कृतिकी स्रष्टाप्रति मेरो अगाध सम्मान छ । मेरो हजुरआमाको उमेरकी हुनुहुँदोरहेछ । त्यो समयमा एउटी छोरी मान्छेले पढ्नु, नाच्नु, अध्ययन, चिन्तन, खोज गर्नु चानचुन विषय होइन । यो उमेरमा आएर वहाँले लेखेको कृतिले मदन पुरस्कार पायो । लेखन तपस्या हो भन्ने बलियो आवाज दिनुभएको छ ।

३. तपाईंको उपन्यास लेखिँदै गर्दा तपाईंको मनमा रहेको मूल प्रश्न के थियो ? उपन्यास प्रकाशित भएपछि पाठकले त्यसलाई कसरी बुझ्लान् भन्ने कुराले तपाईंलाई कति प्रभावित गरेको छ ?
➜ मेरो चेतनाले मभित्र जागृत भएको कुरा समाजलाई भन्नु थियो । कति कुरा त कवितामार्फत पनि भनेँ । त्यसले मात्र तृप्ति नदिएपछि उपन्यास लेखेँ । मैले समयलाई पर्खिएर पटकपटक लेखेर आफूलाई चित्त बुझेपछि मात्र छापेकी हुँ । पहिला लेखक आफ्नो लेखनसँग सन्तुष्ट भयो भने पाठकले पनि लेखनसँग सन्तुष्टि पाउँछन भन्ने लाग्छ । केही विषयहरू क्लिष्ट भए भन्ने कुरा पनि छ । केही नयाँ विषय भएकाले अपरिचितजस्तो लागेको हो । क्रमैसँग बुझिन्छ ।

४. नेपाली समाज तीव्र रूपमा परिवर्तन भइरहेको छ । आजको नेपाली समाजलाई साहित्यले कति समेट्न सकेको छ ?
साहित्य समाजभन्दा बाहिर गएकै हुँदैन । समाजभित्रकै उत्पादन भएकाले नेपाली समाजमा बसेर लेखेको साहित्यले नेपाली समाजलाई समेटेकै छ । तर हामीले साहित्यमा लेख्न बाँकी थुप्रै विषयहरू प्रशस्त छन् ।

५. अहिलेका नेपाली उपन्यासहरूमा समाजका वास्तविक समस्या बढी छन् कि लेखकको कल्पना बढी ?
➜ उपन्यासको कल्पना पनि यथार्थको नजिक हुन्छ । समाजसँगको घुलमिलपछि आउने कल्पनाको उपज हुन्छ उपन्यास । वास्तविक भनिएका विषय पनि कल्पना नै हुन् । यदि वास्तविक भनेर कल्पना लेखिएन भने त्यो रिपोर्ताज हो, समाचार हो ।

६. सामाजिक सञ्जालको विस्तारसँगै मानिसको पढ्ने बानी परिवर्तन भएको छ । के पुस्तक पढ्ने संस्कृति कमजोर हुँदै गएको हो, वा पढ्ने माध्यम मात्र बदलिएको हो ?
➜ धेरैले उठाएको विषय हो । पढ्ने संस्कृति कमजोर भएर गएकै छैन । जो स्थापित हुन् तिनीहरू पढ्दैनन् । अनि अरुलाई पनि त्यस्तै देख्छन् । यदि नपढ्ने हो भने यतिका धेरै प्रकाशनगृह जो निजी लगानीमा सञ्चालन भइरहेका छन् । पुस्तकहरू छापिइरहेका छन् । प्रकाशनगृह नाफामा नै गइरहेका होलान् । नगएका भए त नयाँ किताब छाप्ने थिएनन् । सामाजिक सञ्जालले पुस्तकलाई केही फरक पार्दैन । पढ्नेले जसरी पनि पढ्छ । तर, रुचिअनुसारको कृतिचाहिँ हुनुप¥यो । जे जे छापियो त्यो त्यो पढ्छन् भन्नेचाहिँ छैन ।

७. टिकटक, फेसबुक, युट्युब र एआईको समयमा उपन्यास लेख्नु र उपन्यास पढाउनु कत्तिको चुनौतीपूर्ण भएको छ ?
➜ समय सबैको अलगअलग हो । सबैभन्दा ठूलो चुनौति भनेको पाठकले मन पराउने कृति लेख्न हो । मनपर्ने लेख्न सकियो भने पाठक त छन् ।

८. कृत्रिम बौद्धिकताले लेखन क्षेत्रमा प्रवेश गरिसकेको छ । भोलि यसले उत्कृष्ट उपन्यास लेख्न सक्यो भने मानवीय लेखकको आवश्यकता के रहन्छ ? द्वन्द्व त हुने होइन ?
➜ एआइको विज्ञ म नभएकाले द्वन्द्व हुने नहुने बारेमा त बताउन सक्दिनँ । तर, साहित्य हृदयले लेखिने हुनाले एआइको हृदयचाहिँ हुँदैन । मष्तिस्कले लेखेको साहित्य समयान्तरालमा मेटिएर जान्छ । हृदयले लेखेको साहित्य अमर हुन्छ । किन कि आदिमकालदेखि आजपर्यन्त संसारका मान्छेको हृदयले बोल्ने भाषा एकै हो । साहित्य लेख्दा प्रयोग हुने हृदयको भाषा एआइसँग हुँदैन ।
९. आजका युवा विदेश जाने सपना देखिरहेका छन् । नेपाली साहित्यमा युवाको विदेश पलायन, निराशा र भविष्यप्रतिको अनिश्चितता पर्याप्त रूपमा अभिव्यक्त भइरहेको छ कि बाँकी नै छ ?
➜ केही मात्रामा त आएका छन् । नेपाली लेखकहरू विदेशी कामदारको रुपमा काम गर्नेहरू हुनुहुन्छ । वहाँहरूले थुप्रै लेख्नु भएको छ । विदेशमा बसेर साहित्य लेख्नेहरूले कहीँ न कहीँ तपाईँले उठाउनुभएको विषय व्यक्त गरिरहनुभएको छ ।

१०. तपाईंको दृष्टिमा आजको नेपाली समाजको सबैभन्दा ठूलो कथा के हो, जसलाई लेखकहरूले अझै पर्याप्त लेख्न सकेका छैनन् ?
➜ हामीले दशवर्षे माओवादीले गरेको युद्धको कथा लेख्न सकेका छैनौँ । यस बारेमा थुप्रै विषय हुनसक्थे । अलिअलि त लेखिएको छ । यसलाई विषय बनाएर जसरी लेखिनुपथ्र्यो त्यसरी लेखन सकिएको छैन । अनि हिमालसँग जोडिएर लेखिने साहित्य पनि लेख्न सकिएको छैन । हिमाली साहित्य लेखेर विश्व बजारमा जान सकिन्छ होला जस्तो लाग्छ । यो काम बाँकी छ । यस बारेमा लेख्ने मेरो धोको छ । समयले साथ दियो भने म लेख्नेछु ।

११. नेपाली साहित्यमा महिला लेखकका लागि अहिले पनि कुनै अदृश्य चुनौती वा विभेद छ जस्तो लाग्छ ? छ भने त्यो के हो ?
➜ लेखनमा चुनौती सबैलाई हुन्छ । तुलनात्मक रूपमा महिलालाई बढी हुन्छ । पहिलाको अनुपातमा हामी अलिक बढी स्वतन्त्र त भयौँ । तर पुराना जञ्जिरहरू तोड्दै गर्दा नयाँ जञ्जिरहरू निर्माण पनि भइरहेका छन् । लुगा, गहना, शृङ्गारले पनि महिलाहरूको दिमागलाई अलमल्याइरहेको छ । जुन हामीले तत्काल अन्दाज गर्न सकिरहेका हुँदैनौँ । साहित्य लेख्नको लागि धेरै कुराहरूबाट मुक्त भएर स्वतन्त्र ढङ्गले सोच्न पनि महिलाहरूले अवसर पाएका हुँदैनन् । जबसम्म स्वतन्त्र ढङ्गले सोच्नुपर्ने समयमा ससाना विषयमा अल्झिन्छ, तबसम्म लेखनमा भनेजसरी शक्ति दिन सकिँदैन ।

श्रीमान्–श्रीमतीको सम्बन्ध रिन्यू गरिरहनुपर्छ । जसले रिन्यू गर्न सकेन भत्किहाल्छ । बुहारी हुनु भनेको चाहिँ भएभरका सबैले आग्रह राख्छन् । आमा हुनु व्याख्या बाहिरको कुरा रहेछ । कुनै सिद्धान्त, दर्शनले नसमेट्ने भूमिका रहेछ आमा हुनु । गतिलो लेख्नु एउटा चुनौती, लेखेपछि यत्रो बजारसँग भिड्नु अर्को चुनौती छ । तर, जे जे भूमिका निभाइएको छ त्यसमा म ज्यूँदै छु भनेर दिएको तागतिलो आवाज हो ।

१२. महिला लेखकले लेखेका कृतिलाई साहित्यिक मूल्यभन्दा लेखकको लैङ्गिक पहिचानबाट मूल्याङ्कन गर्ने प्रवृत्ति अझै छ कि हराएर गयो ?
➜ त्यो त के हराउँथ्यो ? अहिले पनि कतिपय वरिष्ठ पुरुष लेखकहरू हामीले लेखेका कृतिलाई कृतिको रुपमा स्वीकार नै गर्नुहुन्न । पढ्नुहुन्न । अहिले पनि केही वरिष्ठ लेखकहरू साहित्यको मापन लिङ्ग हेरेर गर्नुहुन्छ ।

१३. तपाईंको उपन्यासमा व्यक्तिगत अनुभव र सामाजिक यथार्थमध्ये कुन पक्ष बढी प्रभावशाली छ ?
➜ व्यक्तिगत अनुभव नभई कल्पनाशीलता आउँदैन । ती अनुभव नै समाजका यथार्थ हुन् । उपन्यासमा दुई भाग छ । पहिलो भागमा भोगेको देखेको समाज छ । दोस्रो भागमा चाहेको समाज छ । कुन प्रभावशाली भनेर चै पाठकले छुट्याउन सक्नुहुन्छ ।

१४. लेखकले समाजको आलोचक बन्नुपर्छ कि समाजको ऐना मात्र बन्नुपर्छ ? तपाईँ त्यसमध्ये केमा पर्नुहुन्छ ?
➜ ऐना र आलोचक दुवै बन्नुपर्छ । अब त आफ्ना कृतिको समालोचक पनि बन्नुपर्ने अबस्था आएको छ । समाजका सत्य कुरा लेख्नको लागि ऐना बन्नुपर्छ । समाजलाई सही दिशामा लैजाने आवाज उठाउनका लागि आलोचक बन्नुपर्छ । साथै, समालोक अत्यन्त लुलो भएको यो घडीमा स्वयं लेखक समालोचक पनि बन्नुपर्ने अवस्था निर्माण भइरहेको छ ।

१५. अहिलेको साहित्यमा राजनीतिक चेतना र राजनीतिक आग्रहबीचको सीमा कहाँ हुनुपर्छ ? सीमा छ कि राजनीतिक पूर्वाग्रह हाबी भइसकेको छ ?
➜ राजनीतिक चेतना नभएको साहित्यलाई साहित्य नै मान्न सकिँदैन । महाभारत राजनीतिक चेतना भएको ग्रन्थ होइन र ? आग्रह र पूर्वाग्रहलाई लेखिएका साहित्य कदापि साहित्य हुन सक्तैन । यहाँ बिग्रिएको चाहिँ आग्रह–पूर्वाग्रहलाई साहित्य भनेर हो । पूर्वाग्रहपूर्वक लेखिएको केहीको पनि आयु हुँदैन । त्यसैले चेतपूर्वक सजग भएर लेख्ने लेखकहरूले निर्धक्कका साथ लेखिरहनुभएको छ ।

१६. नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाले तपाईंको लेखनलाई कस्तो प्रभाव पारेको छ ?
➜ म यही समाजकी उत्पादन हुँ । यसले मलाई प्रभाव नपार्ने भन्ने सवाल नै छैन । तर, समाजमा मेरो व्यक्तिगत विषय र लेखकको रुपमा म अलगअलग हुँ ।

१७. पुरस्कारले लेखकलाई प्रोत्साहन गर्छ, तर पुरस्कारसँगै अपेक्षा पनि बढ्छ । पुरस्कृत सर्जकका त्यसपछि आउने कृति कतिपय झुर पनि निस्किएका छन् भनिन्छ । पुरस्कार के हो, नैतिक बन्धन कि नियमित आकस्मिकता ?
➜ एउटा सजग लेखकले सबैभन्दा पहिला पुरस्कार स्वीकार गर्नुअघि थाहा पाउनुपर्छ त्यो पुरस्कार कसले स्थापना गरेको हो ? उद्देश्य के हो ? त्यसरी स्थापना भएको पुरस्कार स्वीकार गर्ने या नगर्ने भन्ने बारेमा जान्नु जरुरी छ । कोहीहरू पुरस्कारकै लागि हत्ते–हिरिक कसेको देखिन्छ । पुरस्कार पाउनु र लेख्नु अलग विषय हुन् जस्तो लाग्छ । बदनामी नकमाएको पुरस्कार छ भने त ठिक हुन्छ । नत्र मलाई चाहिँ सबैखालका पुरस्कारमा खासै रुचि छैन । त्यही भएर म धेरै पुरस्कारबाट अलग छु । अलग बस्न पनि चाहन्छु ।

१८. मदन पुरस्कारजस्ता प्रतिष्ठित पुरस्कारका छनोट प्रक्रियालाई लिएर समय–समयमा प्रश्न उठ्ने गर्छन् । तपाईंको विचारमा नेपाली साहित्यिक पुरस्कारहरू कति पारदर्शी र समावेशी हुन सकेका छन् ?
➜ यसबारेमा मलाई खास जानकारी छैन । मदन पुरस्कारको छनोट प्रक्रिया पनि मलाई थाहा छैन । तर, समयसमयमा खास गरी मदन पुरस्कारको विरोधमा कुरा गरेको चाहिँ सुनेकी छु । तर कुरो केके हो चाहिँ थाहा छैन । सबै कुरा पारदर्शी हुनुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन । गोप्य कायम गर्नुपर्ने विषयलाई गोप्य बनाउनु जरुरी पनि हुन्छ ।

१९. अहिले नेपाली पुस्तकको बिक्री र बजारबारे विभिन्न धारणा चिन्ता पनि छन्, तपाईंको अनुभवमा नेपाली पाठक बढिरहेका छन् कि राम्रा पुस्तकको पहुँच मात्र बढेको हो ?
➜ यसबारेमा लेखकहरूले भन्दा पनि प्रकाशकहरूले राम्ररी भन्न सक्नुहुन्छ जस्तो लाग्छ । पाठक बढेका घटेका के हुन् भनेर अन्दाज चाहिँ गरेर ठोकुवा गरिन्छ । खासमा यो अनुसन्धानको विषय हो ।

२०. नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकसम्म पुर्‍याउन सबैभन्दा ठूलो बाधा के हो—भाषा, अनुवाद, बजार वा साहित्यिक संरचना ?
➜ अनुवाद राम्रोसँग गर्न ढिला भइसकेको छ । अनुवाद गर्नसक्ने हो भने एकसे एक साहित्यिक कृतिले नेपाली साहित्य भरिन थालेको छ ।

२१. तपाईं आफैँले आफ्नो उपन्यासलाई अर्को भाषामा अनुवाद भएको हेर्न पाउनुभयो भने कुन भाषाका पाठकसम्म पहिले पुग्न चाहनुहुन्छ र किन ?
➜ सबैभन्दा पहिला अङ्ग्रेजी भाषमा लैजान चाहान्छु । त्यसमा लैजान सकियो भने धेरै भाषामा जाने बाटो खुल्छ ।

२२. अहिलेका युवा लेखकहरू धेरै छिटो चर्चामा आउन चाहन्छन् । साहित्यमा धैर्य र निरन्तरताको महत्त्व कति छ ?
➜ साहित्य भनेकै धैर्य र निरन्तरता हो । यसपालि मदन पुरस्कार पाउनुभएकी लेखिकालाई हेरेर पनि भन्न सकिन्छ– लेखन, अनुसन्धान भनेको धैर्य र निरन्तरताको अर्को नाम हो । आत्तिएर हुँदैन । पर्खनुपर्छ ।

२३. तपाईंले लेखेको कुनै पात्रलाई वास्तविक जीवनमा भेट्नुभयो भने त्यो कुन पात्रसँग के कुरा गर्न चाहनुहुन्छ ?
➜ म रिपुमर्दिनीदेवीसँग भेटेर उपन्यासमा त्रिमातालाई हिमाल सफा पठाइएको छ । साँच्चै पनि ती त्रिमातालाई आह्वान गरेर हिमाल सफा गराइदिन लगाउनुस् भन्ने थिएँ ।

२४. नेपाली साहित्यमा आलोचनाको अवस्था कस्तो छ ? आलोचकले लेखकलाई असहज बनाउनुपर्छ कि प्रोत्साहित ?
➜ आलोचना, समालोचना प्राज्ञिक हिमाबले अलिक कम छन् । पाठकका समालोचना, आलोचना सामाजिक सञ्जालमा सबैभन्दा बढी आइरहेका हुन्छन् । यसले मेरो हकमा प्रोत्साहन नै गरिरहेको हुन्छ ।

२५. लेखकले आफ्नो कृतिमाथि आएका नकारात्मक प्रतिक्रियालाई कसरी लिनुपर्छ ? सबै आलोचना स्वीकार गर्नुपर्छ कि लेखकले आफ्नै दृष्टिमा अडिग रहनुपर्छ ?
➜ कमजोरीमाथि बोलिदिएको, लेखिदिएको छ भने धन्यवाद दिनुपर्छ । पूर्वाग्रह छ भने बेवास्ता गर्ने । म भिड्नचाहिँ जान्नँ ।

२६. नेपाली साहित्यमा अबको दशकमा कुन विषय वा प्रवृत्तिले ठूलो प्रभाव पार्ला भन्ने तपाईंलाई लाग्छ ?
➜ मैले यसको केही अन्दाज गर्ने आधारलाई हेर्दा अध्यात्म र दर्शनमाथि मान्छेले लेख्नेछन् । किनकि हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो । एउटा व्यक्ति परिवर्तन चाहन्छ भने उसले पहिला अध्यात्म र दर्शन बुझ्नु जरुरी छ ।

२७. लेख्न बस्दा तपाईंलाई सबैभन्दा बढी प्रेरणा दिने वस्तु वा वातावरण के हो ?
➜ मेरो अनुभव र दृष्टिकोण नै हो जस्तो लाग्छ ।

२८. लेखक नभएको भए तपाईं के बन्नुहुन्थ्यो ?
➜ राजनीति गरेर गतिलो नेता हुने इच्छा थियो । यता मोडिएँ । राजनीतिमा अझै चासो छ ।

२९. तपाईंको लेखनबारे परिवार वा निकट साथीहरूको प्रतिक्रिया कस्तो हुन्छ ?
➜ कोही साथीहरू गर्व गर्छन्, कोही सुझा दिन्छन् । मेरा असल साथीहरू छन् । परिवारले साथ नदिएको भए यसरी लेख्न बोल्न कहाँ सक्थेँ र ?

३०. तपाईंको पुस्तक पढेर कुनै पाठकले दिएको सबैभन्दा सम्झनलायक प्रतिक्रिया के हो, याद छ ?
➜ थुप्रै छन् । आज मात्र एकजना साथीले अष्ट्रेलियाबाट फोन गरेर भनेको थियो – उपन्यासमा सुकुम्बासी बस्तीको कथा थियो । त्यो भत्कियो । पृथ्वीमा प्रलय आउने कुरा छ । भोटेकोशीमा आयो । हिमाल सफा गर्ने कुरा छ । त्यो पनि अब विषय उठ्ने नै छ । अगाडि कसरी थाहा भयो लेखकलाई भनेर सोधेको कुरा सम्झिरहेकी छु ।

३१. एउटी श्रीमती, बुहारी, आमा र आमा महिला भएर लेखक हुनुमा सबैभन्दा बढी चुनौती के र कसरी छ ?
➜ श्रीमान्–श्रीमतीको सम्बन्ध रिन्यू गरिरहनुपर्छ । जसले रिन्यू गर्न सकेन भत्किहाल्छ । बुहारी हुनु भनेको चाहिँ भएभरका सबैले आग्रह राख्छन् । आमा हुनु व्याख्या बाहिरको कुरा रहेछ । कुनै सिद्धान्त, दर्शनले नसमेट्ने भूमिका रहेछ आमा हुनु । गतिलो लेख्नु एउटा चुनौती, लेखेपछि यत्रो बजारसँग भिड्नु अर्को चुनौती छ । तर, जे जे भूमिका निभाइएको छ त्यसमा म ज्यूँदै छु भनेर दिएको तागतिलो आवाज हो ।

३२. महायुगको लेखनमा अनेक प्रयोग गर्नुभएको छ । पाठकलाई असाधारण कल्पनाशीलता समेटिएको भान हुन्छ । लेखनमा कुन आध्यात्मिक वा सांस्कृतिक प्रभाव हो ?
➜ लेख्दाचाहिँ असाधारण कल्पनाशीलता छ भन्ने थाहा पाएकी थिइनँ । अहिले पाठकले प्रतिक्रिया दिएपछि थाहा पाएँ । मलाई यो कुरा असाधारण लागेको छैन । मलाई अझैँ बाँकी कुरा लेख्नुछ । आध्यात्मिक र सांस्कृतिक दुवै प्रभाव हो भन्ने लाग्छ । पूर्वीय दर्शनसँग मलाई विशेष झुकाव छ ।

३३. कवि सीमा आभास र उपन्यासकार सीमा आभासमा के कति फरक छन् ?
➜ खास फरक छैन । म व्यक्ति र म लेखकमा चाहिँ फरक नै छु होला जस्तो लाग्छ । कवि र उपन्यासकारमा खास अन्तर छैन ।

३४. ज्ञानका हिसाबले आख्यानमा भन्दा कुनै अनुसन्धानात्मक कृतिबाट पाठकलाई लाभ हुनसक्छ भनिन्छ, तपाईँलाई आख्यान नै लेख्न किन मन लाग्यो ?
➜ म आफूलाई ज्ञान बाँड्नुभन्दा कल्पनाशीलतामा बढी रमाउन मन भएकाले आख्यानतिर लागेकी हुँ । कल्पनाशीलता भनेको ज्ञान र विज्ञानको जननी हो ।

३५. कुनै अर्को विधा वा कृतिको तयारीमा पो हुनुहुन्छ कि ?
➜ एउटा नाटक, कवितासङ्ग्रह, कथासङ्ग्रह तयार छ । अब क्रमैसँग निकाल्नेछु ।

३६. अबका दिनमा कोही साहित्य लेखेर बाँच्न सक्छ ?
➜ लेखेर बाँच्ने लेखकहरू छन् । म पनि लेखेरै बाँच्छु भनेर कम्मर कस्दै छु । हेरौँ, कतिको सकिन्छ ।

३६. पाठकलाई बुझाउनुपर्ने वा भन्नुपर्ने कुनै कुरा बाँकी छन् ?
➜महायुग उपन्यास पढ्नेहरूलाई धन्यवाद । पढ्न बाँकीहरूले पढिदिनुस् ।

Tags: अन्तर्वार्ताटाकुरा विशेषसीमा आभास
राज भट्टराई

राज भट्टराई

भट्टराई इटहरीमा रहेर साहित्य सिर्जनामा क्रियाशील छन् । साहित्य सिर्जनासँगै उनी अध्यापन पेसामा समेत आबद्ध छन् । साहित्य र शिक्षणलाई समानान्तर रूपमा अघि बढाउँदै आएका भट्टराईले साहित्यका माध्यमबाट समाज, जीवन र समकालीन विषयलाई अभिव्यक्त गर्दै आएका छन् ।

Related Posts

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?
FEATURE BREAKING

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

by अभिमन्यु अभिजित
अशोज १, २०८३
0

इटहरी : यही भदौको २५ र २६ गते अर्थात् बिहीबार र शुक्रबार सुनसरीका विभिन्न स्थानबाट प्रहरीले फरक फरक मुद्दामा दोषी ठहर...

म आफैँसँग नहारूँ (कविता )
कला साहित्य

म आफैँसँग नहारूँ (कविता )

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

म नढलूँ ! जब म हारेको हुन्छु, जराहरू अझ गहिरो बनाऊँ— झरेका पातहरूलाई माटो हुन दिऊँ, त्यही हारकै मलबाट फेरि...

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.