इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई रहेका छन् ।
आज बिहान करिब ४ः३० बजेतिर इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प छेउ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको ड्युक मोटरसाइकल पानी परेका कारण चिप्लिएर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक राईको टाउको, छाती र मुखमा चोट लागेको थियो । मोटरसाइकलको पछाडि सवार धनकुटा–२ कै २६ वर्षीय सन्दीप राईको हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई तत्काल इटहरीस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, मोरङ पठाइएको थियो ।
अस्पतालमा उपचारका क्रममा अनिल राईलाई बिहान ५ः१९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीलेले जनाएको छ । पछाडि सवार सन्दीपको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण पानी परेका कारण सडक चिप्लिनु रहेको देखिएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post