इटहरी : शब्दको संयोजन मात्र होइन, समय, समाज र जीवनलाई अनुभूत गर्ने दृष्टि पनि हो कविता । यही दृष्टिलाई शनिबार इटहरीस्थित कोसी कलेजको जक्सनमा आयोजित ‘काव्य डबली–४’ मा १५ जना कविले आफ्ना सिर्जनामार्फत प्रस्तुत गरे ।
कार्यक्रममा कविहरूले प्रेम, प्रकृति, सम्बन्ध, मृत्यु, सामाजिक विसङ्गति, जीवनका सङ्घर्ष र मानवीय संवेदनाका विविध पाटालाई कवितामा उने । शान्त साँझको वातावरणमा आयोजित कविता वाचन कार्यक्रममा कविहरूले आफ्ना सिर्जनामार्फत समाज र जीवनका विविध अनुभूतिलाई अभिव्यक्त गरे ।
कार्यक्रममा सीमा आभासले ‘प्रार्थना’, गगन योक्पाङ्देनले ‘पानीको जीवन’, करुणा राईले ‘सपथ’, प्रकाश दिप्साली राईले ‘डोजर’ र प्रदीप योङहाङले ‘भस्मासुर’ शीर्षकका कविता सुनाए ।
त्यसैगरी दीपा दाहालले ‘चुरोट र प्रेम’, प्रयाग न्यौपानेले ‘अन्पी मुसहरको माटो’, प्रज्ज्वल पराजुलीले ‘यादहरूको गन्तव्य’, मीना श्रेष्ठले ‘अनवरत युद्ध’ र रामप्रसाद खरेलले ‘बा’ शीर्षकका कविता वाचन गरे ।
चन्द्र गुरुङले ‘चुपचाप बगिरहेको त्रिशूली’, देवान किरातीले ‘मृत्युको गुलाफ’, पुष्पा बोगटीले ‘प्रश्नहरूको घेरा’, मनु मञ्जिलले ‘दसैँ’ र विवश पोखरेलले ‘बग्दै बग्दै जाने छोरासँग’ शीर्षकका कविता प्रस्तुत गरे ।
कविताका विषय र प्रस्तुति फरक भए पनि कार्यक्रममा जीवनका अनेकौँ कथा, अनुभूति र संवेदना एकै ठाउँमा समेटिएका थिए । कविहरूले आफ्ना शब्दमार्फत दैनिक जीवनमा मानिसले भोग्ने तर सधैँ व्यक्त गर्न नसक्ने अनुभूतिलाई कविताको रूप दिएका थिए ।
कार्यक्रमका सहजकर्ता एवम् नाट्यकर्मी सोनु जयन्तीका अनुसार ‘काव्य डबली’ हरेक दुई महिनामा आयोजना हुँदै आएको छ ।


















Discussion about this post