असोज १८ : उदयपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा उदयपुरको गस्ती टोलीले आइतबार दिउँसो त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित बाबारानी मार्गबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक अम्बरबहादुर जोगीको कमान्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोलका ३१ वर्षीय महेन्द्र कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीको साथबाट १.३३ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थका ६ पोका, दुई थान मोबाइल, दुई हजार रुपैयाँ नगद र को १० प ५८८५ नम्बरको यामाहा स्कुटर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइएको छ ।यसैगरी, उदयपुरको बेलका नगरपालिकामा मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित अर्का एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले बिहीबार साँझ बेलका नगरपालिका–४ लालबजारस्थित यात्रुवाहक बसमा सवार बेलका नगरपालिका–५ घुम्नेका ३० वर्षीय प्रदीप बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित वस्तु लुकाएर ल्याएको आशङ्कामा नियन्त्रणमा लिइएका बस्नेतले शुक्रबार बिहान दिसा गरेपछि प्लास्टिकले बेरेर लुकाएको अवस्थामा दुई ग्राम छ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बस्नेतलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post