बाटोमै भेटिए, हुस्सूमा हराइरहेका बाख्राहरु चराइरहेकी एउटी सुन्दरी गोठाल्नी शेर्पिनी, केटाकेटी हरकत हेरेर रमाइरहेको एउटा प्राथमिक विद्यालय, डाँडाबाट हाम्फाल्दै तमोर मिस्सिन हतार गरिरहेका दुई ह्याण्डसम् तन्नेरी झरनाहरु, भिरालो पाखा च्याप्पै समाएर बसिरहेका अलैँचीका बोटहरु र कीराका किर्रकिर्र संगीत । चराका चिरबिर कोरस ।
र, निकै आवाज गरेर गाइरहेका तमोर । तमोरको सुमधुर गीत, निकै उचाइमा आइसकिएकोले हो कि के हो ? हल्ला लाग्न थालिसकेको थियो ।
अघिसम्म त शाष्त्रिय, सुगम संगीतमा गीत गाइरहेभैmँ लाग्ने उनको स्वर अब चाहि भने हेभ्भी मेटलभैmँ लाग्न थालिसकेको थियो । मेटल त्यति मन नपराउने मेरो कानमा त्यो गीतले घोँचुलाभैmँ गरिरहेको थियो ।
पहिरो झरेर अफ्ठ्यारो भएको एउटा ठाउँ कटेपछि हामी फेरि अर्को एउटा खोलामा आइपुगेका थियौँ । खोलामा फेरि एउटा हल्लिइरहने पुल थियो । पुललाई एक झमट फेरि हल्लाइ राखेर तरिसकेपछि ठाडै ओकालो शुरु भएको थियो । ओकालोमा ढुंगा राखेर मिलाएर भर्याङ जस्तो बनाइएको थियो ।
ओकालिएको त्यो भर्याङ पार गर्न हामीलाई भण्डै–झण्डै एक घण्टा लागेको थियो । ओकालै ओकालो उक्लँदा उक्लँदै छेउको तमोरको हेभ्भी मेटलभने बिस्तारै हल्लाजस्तो, विस्तारै गीत जस्तै र गीत जस्तो लाग्दा लाग्दै पर कसैले सुमधुर सुसेली हालेजस्तो सुनिन थालेको थियो ।
तमोरबाट निकै उचाईमा थियौँ हामी, उक्लिँदा उक्लिँदै । त्यो भर्याङ् सकिने बितिक्कै हामी एउटा मनोरम ठाउँमा थियौँ । बिशाल र म अलिक अघि थियौ ।
त्यतिञ्जेल, साँझ हामी हिँडिरहेकै गोरेटोबाट शुरु भइसकेको थियो । त्यसपछि साँझ छेउको बुटाहरुमा सर्यो । त्यसपछि छेउको झ्याङमा । त्यसपछि रुखहरुको हाँगाहाँगामा । पुरै रुखमा अनि फेरि डाँडाहरु माथि चढ्न थाल्यो । तर डाँडाको टुप्पाटुप्पामा भने घाम दिनजस्तै हाँसिरहेकै थियो ।
नजिकै एउटा घर देखियो । घरमा देखिए केही महिलाहरु । त्यही घरदेखि अलिक पर २, ३ वटा घरहरु थिए डिलमा । बाटोतिर मुख फर्काएर बसेका । नजिकैको सोही घरबाट केही महिलाहरुले चियाएर हामी दुईलाई हेरे । एकजनाले त सोधे पनि, “कहाँ जादै हुनुहुन्छ ?”
हामीले भन्यौ, “जान त हामी ओलाङचुङ गोला हिँडेको । तर आज इलाडाँडा बस्ने हो ।”
उनै महिलाले भनी, “यही त हो इलाडाँडा ।“
विशालले सोध्यो, “ए हो ? हामी यहीँ बस्दा हुन्छ ?”
ती महिलाले उत्तर दिई, “हुन्छ ।”
विशालले फेरि सोध्यो, “खाना बनाइदिन सक्नु हुन्छ ?”
उत्तर आयो, “भइहाल्छ नि । तपाईहरु दुईजना मात्रै हो कि अरु पनि छ ?”
मैले भने, “छ नि । अरु दुईजना । आउँदैछ ।”
मैले त्यसो भनिनसक्दै परबाट जीवन आइरहेको देखियो । उनी आफ्नो ५०० एमएमको लेन्स भएको क्यामेराले आफ्नै धूनमा फोटो खिच्दै आइरहेको थियो । पछाडि ठूलो रुक्स्याक बोकेको उनलाई विदेशी सम्झियो क्यार ।
ती महिलाले सोधिन्, “तपाईहरुसँग आउने खैरे हो ?”
मैले पनि त्यतिक्कै ठट्टा गर्दै, ‘हो त’ भनिदिए । त्यति नै बेला वीरेन सुब्बा, जो अलिक गोरो पनि हुनुहुन्छ, जीवनलाई हिँड्नमा पछि पार्दै अगाडि आइपुग्नु भयो । उहाँले कालो स्ल्याक्स, स्ल्याक्समाथि हाफप्याण्ट, कालो टिसर्ट, सन ग्लास, सनक्याप लाउनु भएको थियो । उहाँ जीवनलाई उछिनेर अलिक प्रस्ट देखिने ठाउँसम्म आइपुग्नु भयो र कराएर सोध्नु भयो, ‘फिलाडाँडा यही हो ?”
तल बगिरहेको तम्मोर र तम्मोरका पानीहरुसँग इत्रिरहेको थियो । त्यहाँको किनारका ढुङ्गाहरुसँग जिस्किरहेको थियो । साथसाथै हामीसँग पनि खेलिरहेको थियो । हिजो रातमा राम्ररी भेट्न नपाएको उसँग भेट मात्रै होइन, हामी धित मरुन्जेल बात पनि मारिरहेका थियौ । वरिपरिका डाँडाहरुमा गलैँचा बिछ्याइएजस्तो विभिन्न रङ्गका बिरुवाहरु थिए । नीला डाँडाहरुमा हरियो रङ्गका रुख बिरुवा त थिए नै । सँगसँगै त्यहाँ थिए, गुलाबी, रातो र पहेँलो रङ्गका बोटबिरुवाहरु पनि । जसले ती डाँडाहरुलाई अति नै सुन्दर बनाइरहेको थिए । नृत्यरत घामका किरणका कारण अहिले ती डाँडाहरु झनै सुन्दर देखिइरहेको थियो ।
त्यतिन्जेल ती दुईलाई विदेशी नै सोँचिरहेको ती महिलाले उनले नेपाली बोलेको र आफ्नो ठाउँको नाम गलत उच्चाहरण गरेर बोलेको देखेर मरिमरि हाँस्न थाले । हाँस्दा हाँस्दै भनी, “ए, नेपाली बोल्ने खैरे पो रहेछ ।’ उनको कुरा सुनेर हामी पनि हाँस्यौ ।
१८ वर्षीय छोरा र श्रीमानसहित ३ जनाको परिवार भएकी ती महिलाले घरमै ‘होमस्टे’ थाल्नलाई काम गर्दैरहेछिन् । उनीसँग भएकी अरु महिलाहरु चाहिँ छिमेकीहरु रहेछिन् । ती महिलाले त्यसपछि खाजा बनाइदिई । र, एकछिनमा खाना पनि । खाएर एकछिनमा हामी तल बगिरहेको तमोरको सुसेली सुन्दै सुतिरहेका थियौँ ।
कहिल्यै नसकिने बाटोका यात्री
बिहानै त्यही घरवाल्नी बहिनीले चाउचाउ र अण्डाको खाजा बनाइदिई । उक्त खाजा हामीले खाइसकेपछि बनाइदिएकी अर्को खाजाको पोका हामीलाई थमाइदिँदै भनी, “यहाँदेखि ५, ७ घण्टा लाग्छ, गोला पुग्न । बाटोमा एउटै घर पनि छैन । दोकान त परैको कुरा हो । बाटोमा खानलाई रोटी बनाइदिएको छुँ । राम्रोसँग जानुहोला ।”
शेर्पासँग बिहे गरेकी लिम्बुनी रहेछिन् उनी । भन्दैथिई, “लेलेप र लेलेपदेखि मास्तिर आएपछि सबै शेर्पा मात्रै छन् ।”
हामीले उनलाई धन्यबाद दिँदै लाग्यौ । उत्तरतिर ताकेर ।
बाटोमा तमोरले अनेक रुप देखाइरह्यो । कुनै–कुनै ठाउँमा त उनले रौद्र रुप धारण गरेको पनि देखियो ।

तमोरलाई दुई ठाउँमा तरेर, तमोरलाई दायाँ त घरि बायाँ पारेर लगभग ९ घण्टा हिँडेपछि साँझतिर हामी यस्तो ठाउँमा पुग्यौ । जहाँ बायाँपट्टि तमोर आफ्नो सम्पूर्ण बल लगाएर डाँडाको टुप्पोबाट हाम्फालिरहेको थियो । तमोर जहाँ बज्रिएको थियो, त्यहाँ उसले इन्द्रेणी बनाएको थियो । शायद, पानीमा घामको परावर्तनले हो क्यार । तमोर झरना भएर झरिरहेको त्यो ठाउँ बाटोबाट करिब करिब डेढ, दुईसय मिटर परै भएपनि वरै बाटोमा हिँडिरहेका हामीलाई बाछिट्टाले भिजाइरहेको थियो ।
त्यहाँदेखि ठीक माथि डाँडा गजधम्म परेर बसेको थियो । हामी त्यही गजधम्म परेको डाँडाको ठिक फेदमा थियौँ । त्यहाँको दृश्य एकदमै हेर्न लायक थियो । बायाँतिर इन्द्रेणी उमार्दै झरिरहेको निक्खुर सेतो तमोर ।
सहरतिर अपरिचित कुनै दुश्मनझैँ लाग्ने घाम, पहाडतिर निकै आफन्त लाग्छ । जाडोको सिरकजस्तो । अंगालो हालिरहुँ लाग्ने । तराईको गर्मीमा बरको शितलु कुनै छायाँजस्तो, त्यहीमूनि डेरा जमाउ लाग्ने । हामीलाई, तर, त्यही रहिरहनु थिएन ।
दायाँतिर, दक्षिणतिर रातो पाण्डाको वासस्थान भनिएको घनघोर जङ्गल, र उत्तरतिर ठाँडै ठडिएको नीलो डाँडा भएको त्यो ठाउँ हलिवुडको कुनै सिनेमाको सुन्दर दृष्यहरुभन्दा अझ सुन्दर थियो । त्यही डाँडामा सानो गोरेटो गएको थियो सोझै मास्तिर । त्यो गोरेटो डाँडामा सानो, सानो झन सानो हुँदै अलिक मास्तिर पुगेपछि धागो जतिक्कै सानो भएको देखिन्थ्यो, तलबाट हेर्दा । सानो भएको ठाउँमै हामी बसेको ठाउँबाट पहिरो गएजस्तै देखिन्थ्यो ।
हामी जहाँ विश्राम गरिरहेका थियो, त्यो ठाउँमा पुग्दा हामी थाकेर निकै चुर भइसकेका थियौँ । छेउमै डाँडा फोरेर पानी बगिरहेको एउटा ढुङ्गे धारा थियो । धित मरुञ्जेल पानी पियौँ । र, त्यहीको एउटा सानो चौतारीजस्तो ठाउँमा बसेर सोच्न थाल्यौँ, इलाडाँडादेखिको त्यहाँसम्मको बाटोका सकसहरु ।
बाटोमा दुईओटा ठाउँमा बाटोले हामीलाई निकै तर्साएको थियो । इलाडाँडा सक्ने बितिक्कै एक ठाउँमा पहिरो खसेर पुरै बाटो नै तमोरतिर झरेको थियो । त्यहाँ बाटोको नाममा पाइला मात्रै राख्न मिल्ने ४ ओटा स्टेपहरु थिए । तेश्रो स्टेप चालेपछि खुट्टाले बाटो भेट्न कम्तिमा पनि एक डेढ फिटजस्तो उफ्रिनु पथ्र्यो । अलिकति गलत कदम मात्रै चालिएमा झण्डै ५, ७ सय मिटर तल बौलाएर बगिरहेको तमोरमा झरिन्थ्यो ।
त्यस्तै एक ठाउँमा चाहिँ बाटोमा पहिरो खसेर बाटै हराएको थियो । त्यही हराएको बाटोमा केही रुखका हाँगाहरु समात्दै झ्याङ्गै झ्याङ्गको बीचबाट टार्जनजस्तै भएर बाटो बनाउँदै छिर्नु पनि कुनै ‘हरर’ अनुभवभन्दा कम थिएन । यी त थिए बाटोले दिएका दुई सकसहरु । बाटोमा रेड पाण्डा भेटिन्छ कि भन्ने आश थियो । तर नभेटिनुको सकस पनि मिसिएको थियो त्यसैमा ।
५/७ घण्टामा पुगिन्छ भनिएकोमा निरन्तर ९ घण्टा हिँड्दा पनि गन्तव्य भेटिनु त परै जावोस् । गन्तव्य देखिँदा पनि नदेखिनुको सकस पनि थियो । यो बाटो थियो जो सक्किने नामै लिइरहेको थिएन । यो सकसले पनि निकै सकस दिइरहेको थियो बाटोभरि ।
यहि सकसहरु सोँच्दा–सोँच्दै डाँडाको ठीक फेदमुनि बसिरहेका हामी एउटा कुरामा चाहि आशावादी थियौ कि पक्कै यो डाँडाको टुप्पोमा पल्लोपट्टि चाहिँ होला, हाम्रो गन्तव्य ।
त्यही आशा मनमा फुलाउँदै हामी उक्लन थाल्यौ धागो जस्तो भएको गोरेटोतिर । उकालोमा मच्चिएर १५, २० मिनेट हिँडेपछि देख्यौ कि त्यहाँ बाटै छैन । हिँडदाहिँडदैको बाटो सकिएको थियो । बाटो गायब थियो । देखिएको थियो त सिर्फ पहिरो ।
२, ३ सय मिटर परसम्म फैलिएको पहिरो । त्यसपछि मात्रै बाटो । त्यहि पनि २, ३ सय मिटर पर । पहिरोदेखि तलतिर बौलाएर बगिरहेको तमोर छ । सोही पहिरोको एकडेढसय मिटर ठीक माथि केही मान्छेहरु देखिन्थे । त्यही मान्छेहरु भए ठाउँमा एउटा स्काभेटर थियो । र, एउटा डोरी स्काभेटरमा बाँधेर तलतिर पहिरोतिर खसाइएको थियो । केही मान्छेहरु त्यही डोरीमा झुण्डिएर माथि चढ्दै थिए ।
सबैभन्दा अगाडि हिँडिरहेको मलाई देखेर माथिका मान्छेहरुले कराएर भने, “लु ठीक टाइममा आइपुग्नु भयो । हामी डोरी तान्न आँटिरहेका थियौँ । यो डोरी समाएर चढ्नु । बाटो यहाँ माथिबाट छ । यसबाट आउनु भएन भने त्यही पहिरो गएको बाटोबाट हिँड्नु पर्ने हुन्छ ।”
उनीहरुले त्यसो भनेपछि मैले पहिरो गएको बाटोतिर हेरेँ । त्यहाँबाट हिँड्न सम्भव नै थिएन । बाटो भए पो सम्भव हुनु ? बाटै खसेर तलतिर झरेको थियो । माथि हेरेँ र अर्को कुनै विकल्प नभएकोले डोरी पक्डिएँ । डोरी पक्डिने बितिक्कै मेरो आँखा तलतिर गयो । तल कहाँ हो कहाँ तल… तमोर बौलाएर बगिरहेकी देखिन्थ्यो ।
तलको त्यो दृश्य देख्ने बितिक्कै डरले मेरो साँस फुल्लियो र खुट्टा जोडले काम्न थाल्यो । डरले मैले डोरी छोडिदिएँ र मेरो ठीक पछाडी आइरहेको बिशाललाई ‘तिमी जाऊ ।’ भनेँ ।
उनले पनि खैँ के सोँच्यो कुन्नी डोरी जीवनलाई छोडिदियो । निकै ठूलो रुक्स्याक, दुईदुईवटा क्यामेराहरुको ब्याग र ५०० एमएमको लेन्स र अर्को क्यामेरा पनि भिरेको ऊ निकै सकसका साथ त्यो पहिरो गएको उकालोमा डोरी समातेर चढ्न थाल्यो ।
त्यसपछि हाम्रो गुुरु चढ्नु भयो । गुरु चढिसकेपछि भने ममा थोरै आँट आयो र डराइडराइ डोरी समाउँदै त्यो उकालो चढ्न थाले । माथि उक्लिएपछि छामँे । मेरो मुटु तल तमोरले गाएको भन्दा जोडले हेब्बी मेटलको धूनमा ड्रम बजाइरहेको थियो । अन्तमा बिशाल चढ्यो । ऊ तल रहेर हामी चढिरहेको भिडियो बनाउन थालेछ । हामी सबैलाई ऊ अन्तिममा चढ्नुको अर्थ बल्ल खुल्यो ।
माथि पुगेपछि सबैभन्दा पहिले त उनीहरुलाई धन्यबाद दियौँ । उनीहरु नभएको भए हामी त्यही ठाउँबाट फर्कनु पर्ने हुन्थ्यो ।
पहिरोको बाटो भएर हिँड्नु कहाँ सम्भव हुन्थ्यो र ? थाहा भयो, उनीहरु हामीले अघिल्लो दिन लेलेपमा भेटेको लुम्बासुम्बा ट्रायल हिँडेका टीम रहेछन् । सबै तयारीका साथ हिँडेकाले रक क्लाइम्बिङको सामान पनि उनीहरुसँग रहेछ ।
उनीहरुलाई धन्यबाद दिनुको साथै हामीले आफूले आफैंलाई पनि भाग्यमानी ठान्यौ । नत्र, यो बेला त्यहाँदेखि कहाँ फर्कनु ? त्यो बेला इलाडाँडा पुग्न त असम्भव नै थियो । साँझ निकै घर्किसकेको थियो त्यतिन्जेल ।
त्यसपछि हामी खुशी हुँदै अघि बढ्यौ । तर, हाम्रो खुशीमा त्यही नै बेला तुसारापात भयो । किनकी हामीले तलबाट यो डाँडा कटेपछि त हाम्रो गन्तव्य आउँछ होला भन्ने सोँचेका थियौँ । तर, एक घुम्ती छिचोल्ने बितिक्कै हामी त्यो डाँडाको ठीक पल्लोपट्टि थियौँ र हाम्रो गन्तव्य अझै त्यहाँबाट अझै निकै टाढा देखिन्थियो । डाँडाको भित्तामा पर…. गजधूम्म र लमतन्न सुतिरहेको, साँझको ओलाङचुङ गोला ।
हामी घस्रँदैघस्रँदै जसोतसो बल्लतल्ल साँझ झमक्कै परिसकेपछि ओलाङचुङ गोलामा थियौ । गोलाको एउटा होटल ‘व्हाइट याक वलुङ गेष्ट हाउस’ मा थियौ । होटलको भाइ टाँसी लामा शेर्पासँग थियौँ । उनी निकै रमाइलो रहेछ । हामी उनैसँग रमाइरहेका थियौँ ।
महुवाको त्रास
भोलिपल्ट बिहान ओलाङचुङ गोला आफ्नो धूनमा थियो । तमोर किनारमा डाँडै डाँडाको बीचमा एकसरो लुगा सुकाएजस्तै पल्टिएको थियो ऊ । घाम त्यहि डाँडाहरु हुँदै ओल्र्हदै थियो हामीभएतिर । एकैछिनमा घाम होटल नजिकैको सानो चौरीजस्तो ठाउँमा, घरका धूरीधूरीहरुमा, त्यहाँका ढुङ्गा बिछ्याइएका साँगुरा गल्लीहरुमा लडिबुडि गरिरहेका देखिन्थे ।
तल बगिरहेको तम्मोर र तम्मोरका पानीहरुसँग इत्रिरहेको थियो । त्यहाँको किनारका ढुङ्गाहरुसँग जिस्किरहेको थियो । साथसाथै हामीसँग पनि खेलिरहेको थियो । हिजो रातमा राम्ररी भेट्न नपाएको उसँग भेट मात्रै होइन, हामी धित मरुन्जेल बात पनि मारिरहेका थियौ ।
वरिपरिका डाँडाहरुमा गलैँचा बिछ्याइएजस्तो विभिन्न रङ्गका बिरुवाहरु थिए । नीला डाँडाहरुमा हरियो रङ्गका रुख बिरुवा त थिए नै । सँगसँगै त्यहाँ थिए, गुलाबी, रातो र पहेँलो रङ्गका बोटबिरुवाहरु पनि ।
जसले ती डाँडाहरुलाई अति नै सुन्दर बनाइरहेको थिए । नृत्यरत घामका किरणका कारण अहिले ती डाँडाहरु झनै सुन्दर देखिइरहेको थियो ।
मैले त भने नै, “यति धेरै रङ्ग भएका डाँडाहरु त मैले अहिलेसम्म कहिँ देखेको छुइनँ ।”
“हो नि” सबै केटाहरुले मेरो यस कुरामा सहमति जनाए ।
त्यति नै बेला होटेलका भाइ टाँसीले भने, “यी सबै डाँडाहरु पाँच हजार माथिको उचाइभएकाहरु हुन्् । अबको केही दिनमै हिउँ पर्छ । हिउँ परे यी सबै डाँडाहरु हिमाल बन्छन् ।” टाँसीको यो कुरा चाहिँ केटाहरुले पत्याएजस्तो देखिएन । म पनि फरक थिइनँ, उनीहरुभन्दा ।
९ बजेतिर टाँसीले भने, “दाजु तपाईहरु सिङ्जेमा जाने हो भने अहिले एक चाइनिज टोली आउदैछन् । एक हफ्तादेखि चिनतिरको बोर्डर टिप्तालाको छेउको एउटा गाउँमा मेला लागेको छ । चाइनिजहरुको निमन्त्रणामा ताप्लेजुङको सिडियो लगायत गाउँबाटै एउटा ठूलो जम्बो टिम त्यहाँ गएको छ ।
आज उनीहरुलाई पुुर्याउन आउदैछन् उनीहरु । उनीहरुसँग आएका गाडी फर्कन्छन् आजै । उनीहरुसँगै आधा बाटोसम्म जानू न । म भनिदिन्छु । तपाईहरुलाई ४, ५ घण्टाको बाटो हिँड्नु पर्दैन । त्यसो भयो भने ।”
गाडीको बाटो नेपालतिरबाट ओलाङचुङ गोला नपुगेपनि, चिनतर्फबाट भने आइपुगेको छ भनेर त बेलुकी नै थाहा पाइसकेका थियौँ हामीले । त्यही बाटोमा गाडी चढेर हिँड्न पनि पाइने भइयो भनेर खुशी भएँ म ।
हामीले स्वीकारोक्ति दिएपछि ऊ गाडी कतिखेर आउँछ भनेर बुझ्न गाउँतिर लाग्यो । गएको एक्कैछिनमा ऊ फर्कियो पनि । भन्यो, “गाडी अघि नै आइसकेको रहेछ । उनीहरु खाना खाएर हिँडिहाल्छन् रे । तपाईहरु पनि छिट्छिटो खाना खाएर तयार हुनु ।”
उनले त्यसो भनेपछि हामी खाना पनि नखाई निस्किन हतारियौँ । टाँसीले पनि हामीलाई खानाको लागि कर नगरी भन्यो, “तपाईहरु सिधै माथि जानुहोला । अलिक माथि प्रहरी थाना छ । त्यही थानाको छेउमा चाइनिजहरुका गाडीहरु छन् । त्यहाँ गएर छेतेन भन्नेलाई भेट्नु होला । उहाँले गाडीको लागि भनिदिइसक्नु भएको छ ।”
हामीले हाम्रा गुरु बिरेन सुब्बा चाहिँ गोलामै रहने भनेर बेलुकी नै सल्लाह गरेका थियौ । यो ठाउँको डकुमेन्ट्रीको लागि केही मान्छेहरुको अन्तर्वाता लिनु, गल्लीगल्ली घुमेर भिडीयो बनाउनु थियो । सबैभन्दा महत्वपूर्ण यहाँको ४६८ वर्ष पुरानो ‘दिकी छ्योलिङ गुम्बा’ को भिडियो पनि बनाउनु थियो । त्यहाँको लामाको अन्तर्वाता पनि लिनु थियो, उहाँलाई ।
त्यसैले बिरेन गुरुलाई गोलामै छोडेर हामी तीन निस्कियौँ । पुलिसचौकीतिर । चौकीकै छेउमै गोलाका थुपैै्र आइमाइ केटाकेटीहरु, बुढाबुढीहरु मेला लागेकोभैm गरेर घाममा बसेका थिए । यसरी यति धेरै मान्छेहरु यहाँ किन भेला भएको होला ?भन्ने लागिरहेको थियो । छेउमै ४, ५ थान सुविधायुक्त चाइनिज गाडीहरु थिए । पछि थाहा भयो, ती भेला भएका आइमाई केटाकेटीहरु गाडी हेर्नलाई थुप्रिएका रहेछन् ।
छेतेन त्यही भेटिए । उनले भने, “मैले भनिदिएको छुँ । उनीहरुले तपाईलाई त्यो ठाउँमा लगेर छोडिदिनेछ । राम्रोसँग जानुहोला । याद गर्नुहोला । उनीहरुले आफ्नो भाषा बाहेक अरु केही बुझ्दैनन् । अंग्रेजी त झनै बुझ्दैनन् ।”
फक्तांलुङ गा. वि. स. का सरकारी पर्यटकीय प्रवक्ता उनी चाइनिज दोभाषे पनि रहेछन् । हामीलाई अप्ठ्यारो मानेको देखेर उनले फेरि पनि भने, “तपाईहरु अप्ठ्यारो नमान्दा हुन्छ । मैले भनिदिएको छु । उत्रिनु पर्ने ठाउँमै उतारिदिन्छन् ।
कथंकदाचित उतारेनन् भने याद गर्नु होला, तपाईहरु ओल्र्हनु पर्ने ठाउँमा छेउछेउमै दुइओटा गोठहरु छन् । छेउमा एउटा खोला बगेर तमोरमा मिसिएको हुनेछ ।”
उसैले भने, “उनीहरु खाना खाँदैछन् अहिले । टाइम लगाउँछन् होला । तपाईहरुले पनि खाना खानुभएको छैन भने यही छेउमै केही खानु हुँदा हुन्छ ।”
उनले त्यसो भनेपछि हामीले छेउकै एउटा दोकान पसेर चाउचाउ उमाल्न लायौँ र त्यही खाएर तयार भइ बस्यौँ । चाइनिजहरु आएपछि हामीलाई दुइओटा भिन्न गाडीमा चढाइयो । बिशाल र मलाई एउटा गाडीमा । जीवनलाई अर्को गाडीमा ।
गाडीमा हामी दुई बाहेक सिर्फ ड्राइभर मात्रै थियो । उनीहरुको प्रत्येक गाडीमा ड्राइभर बाहेक ६, ७ जना अरु पनि अट्थ्यो । तर, किन हो हामीलाई दुइओटा भिन्न गाडीमा चढाइयो ।
लगभग ११, ११ः३० बजेतिर हामी तमोरको किनारैकिनार गाडीमा कुदिरहेका थियौँ । उत्तरतिरको सेता हिमालहरु ताकेर ।
छेउमा तमोर त्यहाँको स्थानीय भाषा वोलुङ मिसाउँदै, त्यहीको टोनमा कुनै नेपाली गीत गुन्गुनाउँदै नाँच्दै बगिरहेको थियो । हामी भने गाडीभित्र सुनिरहेका थियौँ । चिनिया गीतहरु । हेरिरहेका थियौँ, ड्राइभरको छेउको सानो स्क्रीनमा चाइनिज कलाकारहरु नाँचिरहेको ।
भर्खरै खन्दा–खन्दैको त्यो बाटो खल्ड्याङ खुल्डुङ र ढुङ्गै ढुङ्गाले भरिपूर्ण थियो । तर, गाडी यति सुविधाजनक थियो कि, हामीलाई ती खाल्डाखुल्डी महशुस समेत भइरहेको थिएन । बिस्तारै–बिस्तारै हिमालहरु नजिकिँदै गइरहेका थिए । तमोर भने सानो झन सानो भइरहेको थियो ।
बाहिरको वातावरण निकै चिसो थियो । हामी अनुमान गर्न सक्थ्यौ । तर, गाडीभित्र हामीलाई चिसोको अनुभूत भइरहेको थिएन ।
शायद, वातानुकुलित मेशिन चलाइएको थियो । बिशाल र म गाडीमा मौन यात्रारत थियौँ । गफ गर्नु पनि के ? चाइनिज हामीलाई आउदैन । र, दुईजना मात्रै नेपालीमा कुरा गर्नु ती चाइनिज ड्राइभरलाई उपेक्षा गर्नुजस्तो हुन्थ्यो । यो कुरामा हामी सजग थियौ । झण्डै आधा घण्टाजस्तो कुदिसकेपछि ती चाइनिज हामीतिर फर्किएर प्रश्नवाचक एउटा शब्द हामीतिर हुर्याए, “महुवा ?”
हामीलाई फसाद पर्यो । ‘यिनले के भने ?’भनेर । दिमाग लगाए, ‘पक्कै हामी ओल्र्हनु पर्ने ठाउँको नाम होला महुवा, शायद ।’ र, स्वीकारोक्तिको भावमा टाउको हल्लाए । उसले, ‘हो…. ⁄’ भनेर लामो लेग्रो ताने र फेरि अगाडि हेरेर गाडी कुदाउन थाले ।
बिशाल र म मुखामुख गर्यौ । ‘उनले के भनेका हुन् त ?’— भनेर एकअर्कालाई इशारा गर्यौ । बिशालले पनि केही मेसो नपाएको इशारामै भनेपछि हामी चुपचाप बस्यौँ ।

गाडी उत्तर ताकेर उही गतिमा दुगुरिरह्यो, इञ्जिनको आवाज निकाल्नुभन्दा बाहेक मौनता साँधेर । हामीजस्तै । हामीभित्रपनि ‘यिनले कहाँ लगेर छोडिदिने होला ?’ भन्ने आशंकाको इञ्जिन जोडजोडले हल्ला गरिरहेको थियो । तरैपनि हामी मौन थियौँ ।
गाडीजस्तै । आधा घण्टा, पैतालिस मिनेट दगुरिसकेपछि फेरि ती चिनिया ड्राइभर हामीभएतिर फर्किए । उनको आवाज झम्टिएझैँ गर्यो फेरि, “महुवा ?” हामीले फेरि पनि हाँसेझैँ गरेर स्वीकारोक्तिको संकेत गर्यौँ । फेरि उनले लामो लेग्रो तान्यो, ‘हो…… ⁄’ भनेर । फेरि ऊ एकधूनमा गाडी हाँक्न थाल्यो ।
त्यतिञ्जेलसम्ममा, उसको ‘महुवा’ भन्नुले हाम्रो सातो खाइसकेको थियो । अब तेश्रो पटक पनि यिनले ‘महुवा ?’ भनेर सोधेछ भने अंग्रेजीमै अथवा नेपालीमै भएपनि ‘के सोधेको महुवा ?’ भनेर सोध्नु पर्ला भन्ने लाग्न थालिसकेको थियो । मरता क्या न करता ।
त्यसपछि पनि करिब आधाएक घण्टा कुद्यो होला । गाडी । उही ढंगमा । झ्यालबाटै हामीले देखिरह्यौँ । हिमाल नजीक नजीक झन नजीक भइरहेको । देख्यौँ, तमोर सानो सानो झन सानो हुँदै गइरहेको । यो दृश्यले भने हामीलाई अपार आनन्द दिइरहेको थियो । हामीभन्दा अलिकति अगाडि जीवन चढेको गाडी थिएछ ।
हाम्रो गन्तव्य आएपछि त्यो गाडी रोकियो । जीवन ओर्लिएपछि हामीले थाहा पायौँ हामी ओल्र्हनु पर्ने ठाउँ आएछ भनेर । ओल्र्हियौँ । चाइनिजहरुलाई त्यहीबाट बिदाई गर्यौँ । अनुहारमा कृतज्ञताको रङ पोतेर ।
उनीहरु छुट्ने बित्तिक्कै हामीले जीवनलाई महुवाको त्रासको कुरा सुनायौ । ऊ मरिमरि हाँस्यो र भन्यो, “तपाईहरु त दुईजना हुनुहुन्थ्यो । म त झन ड्राइभरसँग एक्लै थिए । चुपचाप आए बाटोभरी । जम्मा एकचोटि बोलेँ । झुक्किएर ।
बाटोमा लुम्बासुम्बा हिँडेका टोली भेटेका थियौ । मैले झुक्किएर ‘यिनीहरु लुम्बासुम्बा ट्रायल हिँडेको हो नि ⁄’ भनेर भनेछुँ त्यो पनि अंग्रेजीमा । मैले त्यसो भन्ने बित्तिक्कै त त्यसले त गाडी रोकेर ढोका पो खोलिदिएको नि । अनि त्यसपछि के भन्यो, भन्यो । शायद, ‘तेरो ठाउँ आयो ? उत्री न त ⁄’ भनेको होला । धन्न, मैले सम्झिहाले, यसले अंग्रेजी बुझ्दैन भनेर । र, इशारामै ‘हैन हैन । अगाडि बढाउ ।’ भनेर भनेँ । झण्डै मुलेले बाटोमै ओरालिदिएको नि ।” हामी केहीबेर हाँस्यौँ ।
भाषाको महत्व यो सानो घट्नाले हामीलाई बताएको थियो । मज्जाले । इशाराको भाषाको महत्व त झन बताइनसक्नुको थियो । अनुभव गर्यौँ । मज्जाले ।
गोठको रात फेरि
दिउँसोको १, १ः३० बजेको थियो होला । वातावरण निकै चिसो थियो । घमाइलो घाम भने लागिरहेको थियो तर । सहरतिर अपरिचित कुनै दुश्मनझैँ लाग्ने घाम, पहाडतिर निकै आफन्त लाग्छ । जाडोको सिरकजस्तो । अंगालो हालिरहुँ लाग्ने । तराईको गर्मीमा बरको शितलु कुनै छायाँजस्तो, त्यहीमूनि डेरा जमाउ लाग्ने । हामीलाई, तर, त्यही रहिरहनु थिएन । अगाडि बढ्ने बाटो खोज्नु थियो । हिँड्नु थियो । बाटो खोज्न थाल्यौँ ।
हामी यस्तो ठाउँमा थियौ, जहाँबाट चारैतिर हिमाल देखिइरहेको थियो । बाटो छेउमै गोठ थियो । त्यो गोठकै अलिक परतिर अर्कोपनि गोठ देखिन्थ्यो । छेतेनले भनेझैँ । अलिक परको गोठ चाहिँ जीर्ण अवस्थामा थियो । यस्तो लाग्दथ्यो, त्यहाँ परापूर्व कालदेखि नै कुनै मान्छेको छायाँ पनि परेको छैन ।
छेतेनले भनेझैँ त्यही माथिल्लो पट्टि पूर्वतिरबाट बगेर आएको एउटा खोला ठीक उत्तरतिरबाट बगेर आएको तिरतिरे तमोरसँग मिसिएको थियो । त्यो मिसिएको ठाउँबाट मास्तिर तमोर त उफ्रिएरै पनि नाँध्न सकिने जतिको सानो थियो । त्यो माथिको तमोरभन्दा ठूलो त मिसिएको त्यही खोला थियो ।
धन्न, त्यही एकजना भेडा चराइरहेका शेर्पा भेटिए । सोधेपछि उसैले भने तमोर मिसिएको त्यही खोलाको किनारै किनार उत्तर पूर्व उक्लिएपछि पुगिन्छ सिङजेमा ताल । उसैले भने त्यो खोलाको नाम पनि सिङ्जेमा खोला हो । र, उसैले भने त्यही खोलाको शिर हो, सिङ्जेमा ताल । हामी पुग्नु पर्ने ठाउँ । हामीले नभनेपनि उसैले निकै माथिसम्म आएर सानो एउटा गोरेटो ‘बाटो’ भनेर देखाइदिए ।
अब हामी अघिसम्म चाइनिजहरुले बनाइदिएको गाडी हिँड्ने ठूलो बाटो छोडेर बाटो नै नदेखिने साना–साना पोथ्रा पोथ्रीहरुको बीचको गोरेटो बाटो हुँदै पहिल्याउँदै थियौँ, आफ्नो बाटो । सम्झिँदै गुलजार अनि गुलजारको ‘दुब्लो गोरेटो’ शीर्षकको कविता—
“यति छोटो दुब्लो पातलोजस्तो गोरेटो
सधैँ पहाडको टुप्पोसम्म उक्लन्छ !
र यति चौडा अलकत्राको पक्की सडक छ
कति ठाउँ घुम्दछ तर
माथिसम्म पुग्नै सक्दैन !!”
बाटोमा अरु केही नै थिएन । थिए त सिर्फ पोथ्रापाथ्री । स–साना । थिए त सिर्फ चारैतिरबाट हामीलाई क्वार्क्वार्ती हेरिरहेका सेता हिमालहरु । चट्टानी पहाडहरु । थिए त सिर्फ फोटो खिँच्ने होडबाजी गरिरहेझैँ हामी तीन भाई । र, थिए त सिर्फ हामीसँगै सँगसँगै एकतमासले हिँडिरहेका हाम्रा मौनता । खोलाको किनारैकिनार ।
हामी चूपचाप हिँडिरह्यौ । सिङ्जेमा खोलाको तीरैतीर । सिङ्जेमा खोलाको शिरतिर ।
कठ्यांग्रिने चिसो परिवेश थियो त्यहाँ, तर चिसोपन हामीलाई अलिकति पनि महसुस भइरहेको थिएन । हिँड्ने धूनमा । हिमाली अफ्ठ्यारो ठाउँमा सानो बाटोमा हिँड्नुको अफ्ठ्यारो । त्यो पनि तर महशुस भइरहेको थिएन । हिँड्ने धूनमा । पहिल्याउनै नसकिने सानो गोरेटो बाटो । त्यही सानो बाटोपनि नदेखिएर एकदुईचोटि त बाटै बिर्सिएर नभएको बाटोतिर हिँडिरहेका रहेछौँ ।
हिँड्ने धूनमा । बाटो नभए ठाउँमा हिँड्दाहिँड्दै बाटो अर्कैतिर छ भन्ने थाहा पाएपछि बाटोतिर पुग्नुको लागि भीरैभीरमा उक्लनुको लागि गरेका पौठेजोरी । त्यो पनि हामीलाई केहीजस्तो लागिरहेको थिएन । हिँड्ने धूनमा ।
हिँड्ने धूनको साथसाथै हामी त मस्त कैद थियौँ, त्यहाँको सुन्दरतालाई फोटोमा कैद गर्ने लोभको झ्यालखानामा । झ्यालखाना पनि प्रिय लागिरहेको थियो हामीलाई । कैदमा पर्नु पनि सुन्दर हुँदो रहेछ, कहिलेकाहीँ । अनुभूत भइरहेको थियो ।
फोटो खिँच्दा–खिँच्दै, हिँड्दा–हिँड्दै हामी कैद भइरहेका थियौँ, त्यहाँको प्रकृतिको सुन्दरताको झ्यालखानामा । सुन्दरताको झ्यालखानामा मेरो लागि भने सजाय पनि हाजिर थियो । सजाय के थियो ?
सजायको कुरा गर्नुभन्दा पहिले त लागौ बाँकी यात्राको वृतान्ततिर । त्यसपछि हामी हिँड्दाहिँड्दै एउटा यस्तो ठाउँमा पुगेका थियौँ । जहाँ सैयौँ चौरी र भेडाहरु चरिरहेका थिए । छेउमा एउटा गोठ थियो । गोठमा पुग्यौँ । तर, गोठमा कोही थिएनन् ।
त्यहाँदेखि अलिक पर झण्डै २, ३ सयमिटर पर अर्को दुईओटा गोठ पनि देखिए । ती गोठहरुबाट धुवाँ आइरहेको देखिन्थ्यो ।
परैबाट गोठबाहिर केही मान्छेहरु हामीतिरै हेरिरहेका देखिए । हामीलाई नै पर्खिरहेझैँ देखिन्थे ती दुई गोठहरु । ती मान्छेहरु ।
भेटिएको पहिलो गोठमा मान्छे कोही नभेटिएपछि हामी सिँधै पर देखिएको दुई गोठलाई ताकेर त्यतातिर पाइला बढाउन थाल्छौ । बाटामा चौरी र याकहरुले निहुँ खोज्लाभैmँ गर्छ । बच्दै बचाउँदै आपूmलाई ती गोठ भएको ठाउँमा पुग्छौ ।
दुई गोठमध्येको छेउको गोठमा भेटिन्छन्, वोलुङको एक शेर्पासँग बिहा गरेर आएकी एक तिब्बती महिला । हामी पुग्ने बितिक्कै उसले केही नभनी हामीलाई ३ कप ‘शेर्पा चिया’ खान दिन्छिन् ।
जाडोले कठ्यांग्रिदै पुगेको हामीलाई त्यो चियाले थोरै भएपनि राहत दिन्छ । हामीले बासको कुरा गरेपछि ती महिलाले तिब्बती टोनमा अफ्ठ्यारोगरी आफ्नो गोठ अलिक साँगुरो भएको र अर्को चाहिँ गोठ अलिक फराकिलो छ, त्यहाँ गएर बास माँग्नु भन्ने कुरा बताउँछिन् ।
यो पनि – इम्बिरी तीरैतीर वोलुङ – १
त्यसो भनुञ्जेलसम्म उनले बिशाल र जिबनलाई तीनचोटी चिया थप्न पनि भ्याउँछिन् । म भने एक कप पनि मरेर पिउँछु । कारण थियो, मैले अगाडि उल्लेख गरेको सजाय ।
करिब–करिब ४,००० मिटरको उचाइमा रहेको त्यो ठाउँमा चारैतिर अग्ला–अग्ला भिराला परेका खुइले डाँडाहरु थिए । डाँडाकै अलिकति मास्तिर चारैतिर सेता हिमालहरु । त्यहाँ पुग्दा नपुग्दै मलाई एकाएक टाउको कस्सिएर दुख्न थालेको थियो ।
भोमिटिङ होला–होला जस्तो पनि भइरहेको थियो । पेट दुखेर डायरीया होला जस्तो पनि भइरहेको थियो । मलाई थाहा भयो, त्यो ‘अल्टिच्युड’ को समस्या थियो ।
बिशाल र जीवन अर्को गोठमा गएर बासको कुरा मिलाएर आए । हामीले ती तिब्बती महिलालाई चियाको पैसा तिर्न खोज्यौ । ती महिलाले पैसा लिन मानिन । ‘पाहुनासँग चियाकै त के पैसा लिनु र ?’ भन्ने टाइपको कुरा गरिन् उनले । हामी कृतकृतार्थ भयौ ।
अर्को गोठमा दुई बुढाबुढी दम्पत्ती थिए । युवा छोरासँग । ती छोरा चाहिँ फुङलिङमा १२ कक्षामा पढ्दै गरेका रहेछन् । ऊ दशैतिहारको छुट्टीमा बाआमालाई सघाउन आएको रहेछ । उनले हामीलाई देखेर खुशी हुँदै आपूm पनि हामीसँगै सिङ्जेमा जाने कुरा सुनाउन थाले ।
हामी पनि हामीलाई बाटो देखाउने मान्छे हुने कुराले खुशी भयौ । उसले गोँठबाहिरैबाट हिमालहरुको शृङ्खलाहरुतिर देखाउँदै भने, “ऊ त्यो हिमालको तल्लो पटटी छ, सिङ्जेमा । यहाँदेखि करिब करिब एक डेढ घण्टामा पुगिन्छ । म एक्लै जाने हो भने त त्यही समयमा पुगेर फर्किन पनि सक्छु । तर, तपाईहरुलाई पुग्नै त्यति लाग्ला ।”
त्यतिञ्जेल मेरो हालत निकै कष्टकर भइसकेको थियो । टाउको दुखेर आँखै खोल्न नसक्ने भइरहेको थियो । यही हालत रहे भोलि बिहान सिङ्जेमा चढ्न सक्ने स्थितिमा म हुन्न भन्ने कन्फर्म भइसकेको थिए । जीवनले आफ्नो ब्यागबाट ब्रुफिन निकालेर दियो । म खाएर सुत्न हतारिएँ ।
ढुङ्गाले बारेको सानो गोठ । त्यही एउटा कुनामा ४, ५ जना मुश्किलले सुत्न मिल्ने ओछ्यान, चाहिने समानहरु र डङ्गुर छुर्पी थुपारिएको छ । बीचोबीचमा ओदान गाडिएको छ । र, त्यही ओदानमा दाउराको आगो बलिरहेको छ ।
ओदानमाथि विभिन्न परिकारहरु पाकिन थाले । भात, कालो दाल, रायोको साग र बङ्गुरको मासु । ओदान वरिपरि बसेर जीवन, बिशाल, दुई शेर्पा बुढाबुढी र उनका छोरा गफ्याउन थाले । म भने सुत्न छिरेँ आफैंले बोकेको स्लिपिङ ब्यागमा घुस्रिएर । उनीहरुको पनि सिरक खप्टाएर । सञ्चो नभएर ।
खाना पाकेपछि केटाहरुले खाना खान उठाए । खाए । तर, कम्ती ।
पिसाब गर्न बाहिर निस्किएँ । बाहिर साँझ झरिसकेको रहेछ । अँध्यारो थियो वातावरण । तर, जाडो भने निकै कम थियो । मौसम अघि सुत्न अघिभन्दा तातो र गुमुक्क थियो । मास्तिर आकाशमा हेरेँ आकाशमा बादल लागेको थियो । तारा एउटै देखिएका थिएनन् ।
पिसाब फेरेर भित्र छिर्दा केटाहरु पनि सुत्न तरखर गर्दै थिए । बुढा मान्छे सुनाउँदै थिए, “अघि तपाईहरु आउनु हुँदा गोठको माथ्लोतिर रहेको डाँडामा २, ३ सय जस्तो थार चरिरहेको थियो ।”
वाइल्ड फोटोग्राफीमा खुब चासो राख्ने जीवन एउटा राम्रो मौका गुमाएकोमा थकथकी हुँदै बुढा मान्छेसँग गुनासो गर्दैथियो, “हो र ? धेत… बुढो मान्छे ⁄ मलाई भन्नु पर्दैन थियो । म फोटो खिँच्थे नि ।”
उनीहरुको कुरा सुन्दै म चाहिँ फेरि एक पटक सुत्नलाई आफ्नो स्लिपिङ ब्यागमा घुस्रिएँ ।
केटाहरु, दुई बुढाबुढी र उनको छोराको गफ सुन्दै सुतेको म मध्यराततिर अचानक ब्युँझिएँ ।
बाहिर टङडङडङ… गरेर एकतमासले घण्ट बजिरहेको थियो । त्यो घण्ट यस्तो थियो, जस्तो कि दर्जनौ गुम्बामा सैयौँ घण्ट एक्कैचोटी बजिरहेको होस् । जस्तो कि आनी छोयोङ डोल्माको गीतको इन्सट्रुमेण्टल भर्सन बजिरहेको होस् । सेमी लाउड भोल्युममा ।
छेउमा हिमाल साक्षी राखेर भिरालो परेर तपस्या बसेजस्तै बसेका डाँडाहरुको बीचमा अवस्थित त्यो गोँठमा, मध्यरातमा त्यो आवाजले मलाई शान्ति होइन त्रास उत्पन्न गराइरहेको थियो । मैले जीवनलाई कोट्याएर सोधेँ, “यो के आवाज हो ?”
जवाफ बुढो मान्छेले फर्कायो, “यो याक र चौरी गाईको घाटीमा बाँधेको घण्टको आवाज हो । दिनभरी चरेका खानेकुरा उनीहरुले घाटीमै राखेका हुन्छन् । र, त्यही खानेकुरा उगालेर उनीहरुले रातभरी चबाउँछन् । चबाउँदा उनीहरुले घाटी हल्लाउँछन् । दूईवटा गोठको झण्डै ४, ५ सय चौरी र याकले एकैचोटी घाटी हल्लाउँदा यो आवाज निस्किएको हो ।”
उत्तरले मनलाई निश्चिन्त त बनायो । तर, पेटले भने बदमाशी गर्न थाल्यो । पेटले साह्रै नै उपद्रव गरेपछि, “लङ टोइलेट लाग्यो हौ मलाई । जानू पर्यो ।” म जीवनलाई भन्छूँ । जीवनले आफ्नो झोलाबाट टर्च झिकेर दिन्छ । टोइलेट रोल पनि दिन्छ ।
म टर्चकै उज्यालोमा बाहिर निस्किएर खोलाको किनारमा सूचिक्रियामा ब्यस्त रहन्छुँ । महशुस गर्छु । साँझमा सुत्नअघिको टाउको दुखाइ गायब छ । जिउ केही नै नभएजस्तो चंगा छ । कठ्याङग्रिँदो चिसो पनि गायब छ ।
आकाशमा ताराहरु गायब छन् । मौसममा अचम्मको न्यानोपन छ । सम्झन्छुँ, यस्तो मौसम त हिउँ पर्न अघि हुने गर्दछ । जरुर, आजभोलि नै हिउँ पर्नेछ । घण्टको आवाज सँगै टाढाटाढा दुई गोठले पालेका ४ थान भोटे कुकुरहरु भुक्दै गरेको पनि सुन्छुँ । मनमनै पुकार गर्छु, “मलाई सिङ्जेमा तालसम्म पुग्नु छ । त्यहाँ पुगुञ्जेल मेरो स्वास्थ्य स्थिति यस्तै भइरहोस् ।”
क्रमशः बाँकी अर्को अंकमा …
शब्दार्थः
इम्बिरी — तमोर नदीको नाम लिम्बू भाषामा
वोलुङ — ओलाङचुङ गोलाको स्थानीय नाम
सुदीप पाख्रिनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्
















Discussion about this post