अग्लो माथ लिएर चम्किरहने आभा भएँ स्वर्गमा
माछापुच्छ हिमालको छविसँगै उड्दै गएँ उर्ध्वमा।
आँखामा जति छन् सबै सहज छन् साँचेर राख्दै छु म
यस्तो उच्च अपूर्व शिष्ट उरमा संसार भुल्दै छु म।।
१
हे फेवा कति गम्दछौ दिनदिनै संसार लुट्ने गरी
हावाले पनि चुम्छ त्यो पलकमा भुल्नै नसक्ने गरी
लुट्छौ प्रेममयी कथा सरसको बन्दै नयाँ सङ्गम
तिम्रो गर्त गुफासँगै लहरिँदै संसार भुल्दै छु म ।।
२
यस्तो डोब छ चित्तमा नजरको खोपिन्छ झन् बेस्सरी
छाँगो देख्छु अजस्रको सुकुनको सौन्दर्यको झैँ झरी
तिम्रो गीत बनेर राग रचिने झङ्कार पोख्दै छु म
त्यो चट्टान समेतको मधुरिमा संसार भुल्दै छु म ।।
३
सेतीको पनि गर्तको गमन ता आश्चर्यको थात हो
भेटौँ भन्छु अझै गयौ कुन पुरी सम्झेर निर्घातको
यात्रा त्यो कति दूरको छ अब ता हेरेर कुर्दै छु म
तिम्रो यौवनमा डुबेर कसरी संसार भुल्दै छु म।।
४
मानौ एक सुरम्य भाव सरिता पोख्छन् चराले पनि
हिँड्दा कोमलता सँगै सहजता छर्छन् गराले पनि
कस्तो मादकता दियौ नि मदमा रम्दै हराएँछु म
तिम्रो स्वर्ग समानको हृदयमा संसार भुल्दै छु म।।
५
तिम्रो चित्त सफा सफा छ तनमा संसार हुन्छन् सफा
तिम्रो बैँस सदैव विश्व हरने लोभी भयो सर्वदा
तिम्रा ती सुकुमार अङ्ग सबमा हेर्दै हराएँछु म
आफैँभित्र हराउँदै गिरिगुफा संसार भुल्दै छु म।।
६


















Discussion about this post