इटहरी : सुनसरीमा जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।
भारतबाट दुई दर्जनभन्दा बढीको संख्यामा आएका जङ्गली हात्तीले बस्तीमा आतङ्क मच्चाएपछि क्षति भएको छ ।
दुईदिनअघि मात्रै हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका ५ सिमरवनका ७० वर्षीय धनबहादुर माझीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले धरान र बराहक्षेत्रमा हात्तीले दुःख दिन थालेपछि स्थानीयबासीले प्रशासनको सहयोग मागेका छन् ।
धरान १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार यहाँको पटनाली, कुम्भिआहाल लगायतका क्षेत्रमा हात्तीले आतङ्क मच्चाएको छ । स्थानीयको घर, बाली, कृषि फर्ममा हात्तीले आक्रमण गर्दा लाखौं रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको उनले बताए ।
जङ्गली हात्तीको बथान सुनसरीको बराहक्षेत्र, चतरा, नडाहा, चक्रघट्टी धरान लगायतका स्थानका मानव बस्तीमा प्रवेश गरी आतङ्क मच्चाएपछि स्थानीयले हात्ती नियन्त्रण लिन प्रशासनसँग माग गरेका छन् ।













Discussion about this post