इटहरी : शान्तिसुरक्षा तथा मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सुनसरीमा हुने दुईदिने मुस्लिमसभा गृह मन्त्रालयले रोक लगाएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रसाशन कार्यालय सुनसरीले कार्यक्रम नगर्न आयोजक समितिलाई लिखित पत्र बुझाएको हो ।
प्रशासनको पत्र प्राप्त गरेसँगै मुस्लिम अगुवाहरू सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् ।
इटहरीको खनार र दुहबीमा सोमबारदेखि हुन लागेको इज्तेमा देशको विषम् परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको आयोजकहरूले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
करिब दुई महिनादेखि भव्य तयारी गरिएको कार्यक्रमबारे स्थानीय प्रशासनलाई मौखिक जानकारी गराएपनि ठोस निर्णय नआएकै कारण दुई स्थानमा झण्डै ३ करोड बराबरको लगानी नोक्सानी भएको खनारस्थित इस्तेमा समारोह मुल आयोजक समितिका सयोंजक तैयव हुसेनले जानकारी दिए ।
आमन्त्रितका लागि खाने, बस्ने, शौचालय तथा सभाहरू निर्माण सम्पन्न भइसकेको उनले बताए ।
खनारमा मंसिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो ।
दुवै कार्यक्रममा करिब दुई लाख मानिसहरू सहभागी हुने अपेक्षा गरिएको थियो भने प्रतिष्ठित मुस्लिम धर्मगुरुहरूले प्रवचन दिने कार्यक्रम रहेको थियो ।
Discussion about this post