इटहरी : इटहरी १ मा रहेको कामधेनु दुग्ध सहकारी संस्थाले रजत जयन्ती मनाएको छ । बिहीबार एक कार्यक्रमबीच संस्थाले रजत जयन्ती मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सधैँ किसानहरूको साथमा रहेको बताए ।
‘हामीले प्रदेशभरका किसानहरूको सर्वोत्तम हितका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘दुग्ध लगायत कृषिजन्य उत्पादनको बिक्री तथा वितरणका लागि प्रदेश सरकारले सहजीकरण गर्छ ।’
कोशी प्रदेशमा अहिलेसम्म ‘मिल्क होलिडे’ नभएको र यसो हुनुमा कामधेनुजस्ता उद्योगहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रशंसा गरे ।
कार्यक्रममा प्रदेश सांसद रेवतीरमण भण्डारीले कृषि क्षेत्रमा राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए । उत्पादनको क्षेत्रमा काम गर्ने कामधेनुजस्ता उद्योगहरूले रोजगारीको सृजना गरेर देशलाई योगदान दिएकोसमेत भण्डारीले बताए ।
इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले कृषकहरूको नाम भँजाएर पहुँचका आधारमा सुविधाको दुरुपयोग हुने गरेको बताए ।
‘वास्तविक कृषकहरूले अहिले कुनै कृषक सुविधा लिनु परेमा त्यो असम्भव जस्तै छ । तर, कृषकको नाममा कृषि पेसामा संलग्न नै नभएका व्यक्तिहरूले भने पहुँचका आधारमा कृषक सुविधा लिइरहेको पाइन्छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यसको नियमन कसले गर्ने ? कृषकको नाम दुरुपयोग गरी सुविधा उपभोग गर्नेमाथि कारबाही गर्न आवश्यक छ ।’
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी सघंका अध्यक्ष अम्बरबहादुर कुँवर, विभिन्न डेरी तथा उद्योगी व्यवसायीहरूले कामधेनु दुग्ध विकास सहकारी संस्थाको रजत जयन्तीको अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।
कामधेनु दुग्ध विकास सहकारी संस्थाले २५ औ वार्षिक उत्सव मनाउन पाउनु सुखद भएको संस्थाका अध्यक्ष यादप ढकालले बताए ।
‘हामीले सुखद रूपमा २५ औँ वार्षिक उत्सव मनाएका छौँ । संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
सहकारीले २५ औ वार्षीक उत्सव तथा रजत जयन्तीको अवसरमा विभिन्न विधामा कृषक, दुग्ध वितरक तथा सङ्कलकहरूलाई नगदसहित सम्मानसमेत गरेको थियो ।














Discussion about this post