उहिले उहिले
हजारौं वर्ष पहिले
सेन्छेङलुङको काँधबाट
अनि, कुहिना हुँदै हातबाट
बगेको थियो एउटा
हिउँका गोला बोक्ने खोला ।
सेतो काङ्वा
उँधो बगेपछि खोला निलो भयो
सायद पोखियो आकाशे रङ्ग
अझ, तल बगेपछि हरियो भयो
सायद मिस्सियो लेउ खाने तीते माछा
वा, तैरियो पानीमाथि उत्तिस र काभ्राका पातहरू !
हज्जारौं वर्षपछि,
जब मान्छेले लगायो फड्के, थाप्यो साँघु
तब,
काङ्वा केही धमिलो भएर बग्यो
उडेर स्वाद अमिलो भएर बग्यो ।
केही सालअघि,
जब पर्खालले थुनियो जीउ
तारले बाँधियो हात र खुट्टा
भ्वाङ पारियो भीरपहराको छाती
ब्लास्टिङ गरेर हल्लियो पहाडको गिदी
त्यसपछि,
काङ्वा रातो भएर बग्यो
मुटुको सातो उडेर बग्यो
कहिले बाटो बिराउँदै
कहिले गाउँ लडाउँदै
तम्मरलाई गुनासो सुनाउन
लामो लामो श्वास तानेर
हुत्तिएर बग्यो ।
आजभोलि,
काङ्वा चुपचाप छ
घामले पिल्सिएका ढुंगा र
तातिएका हलुवाजस्ता बालुवा
असरल्ल भुइँभरि
छाडेर गुमनाम छ ।
गाउँघरमा बराजु बाजे भन्थे –
‘माछा लुक्यो र खोला सुक्यो भने लोदर हुन्छ ।’
अब हेर्नुछ,
भुँइचालो भएर उधोँबाट
या, चट्याङ भएर उभोबाट
धर्तीमा आइपुग्छ
काङ्वा !
(काङ्वा = याक्थुङ(लिम्बू) भाषामा काबेली खोलाको नाम । जुन ताप्लेजुङको याङरूप क्षेत्रमा बग्छ । र, पाँचथर छेउ आएर तम्मर खोलामा मिस्सिन्छ । पछि, यो खोला धनकुटा र सुनसरीको सीमामा आएपछि सप्तकोसीमा मिस्सिन्छ । हाइड्रोपावर परियोजनाका कारण केही वर्षयता खोला सुकेको छ । सेन्छेङलुङ = याक्थुङ भाषामा कञ्चनजंघा हिमालको नाम । जुन विश्वको तेस्रो अग्लो हिमाल हो ।)
Discussion about this post