तिमी साथ भएपछि
मलाई धेरै चिजको अभाव हुनेछ
अँगालो भरिने छ तर आँत खाली हुनेछ
उज्यालो छाउने छ तर अँध्यारोको अभाव हुनेछ
सुखले शिखर चुम्ने छ तर पीडाको अभाव हुनेछ
खुशीको छाँगा बनेर उर्लिने छ्यौ तिमी
मलाई भत्किने तलाउहरूको अभाव हुनेछ
सुविधा बन्ने छ्यौ तिमी
मलाई अप्ठ्याराहरूको अभाव हुनेछ
चौडा सडक बनेर फैलिने छ्यौ
मलाई यात्राहरूको अभाव हुनेछ
हाँसो मिल्ने छ, आँशुको अभाव हुनेछ
साथ मिल्ने छ, समस्याको अभाव हुनेछ
स्पर्श पाउने छु, अनुभूतिको अभाव हुनेछ
मल्हम पाउने छु, घाउको अभाव हुनेछ
तिमी नतिजा बनेर आउने छ्यौ
मलाई परीक्षाको अभाव हुनेछ
तिमी समाधान बन्ने छ्यौ
मलाई अभ्यासको अभाव हुनेछ
यसकारण अहिले आउँछु नभन्नू
म आफूलाई अभावमा दबाब दिन चाहन्छु
म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु
किनकि,
सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्व बढी देख्छु म ।














Discussion about this post