इटहरी : इटहरीमा खुल्ला व्यायामशाला सुरु भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खुल्ला व्यायामशालाको शनिवार उद्घाटन गरेका छन् ।
उपमहानगरपालिका र स्थानीयबासीको साझेदारीमा इटहरी १६ स्थित बालग्राम टोलमा निर्मित व्यायामशालाको उद्घाटन गरिएको हो ।
व्यायामशाला कूल १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्माण भएको जनाइएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अरू केही नहुने बताए ।
स्थानीय सरकारले इटहरीका सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति अनुरूप चालू आर्थिक वर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको पौडेलले जानकारी दिए ।
आगामी आर्थिक वर्षमा बजेटमै व्यवस्था गरि थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
‘जनताको सहभागिता बिना स्थानीय सरकारले केही गर्न सकिँदैन,’ उनले भने, ‘दिगो विकासका लागि विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको छ।’
विकास निर्माणका कार्यहरूमा वडावासीको सक्रिय सहभागिताको लागि पौडेलले धन्यवाद समेत ज्ञापन गरे ।
कार्यक्रममा इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरी, कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायत बालग्राम टोल विकास संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरूले बोलेका थिए ।
Discussion about this post