इटहरी : इटहरीमा तीन दिने अन्तरदेशीय नाटक महोत्सव सुरु भएको छ । आइतबारदेखि इटहरीका किरात राई यायोख्या ‘तायारिप्ची’ भवनमा नाटक महोत्सव सुरु भएको हो ।
कलालय इटहरीको आयोजनामा भएको अन्तरदेशीय नाटक महोत्सवको पहिलो दिन भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका छन् ।
कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुतिमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो । जसको अर्थ हो, ‘आगो देऊ’ । शुभ्रा रोयद्वारा निर्देशित नाटक महिलाको आर्तनादको कथा भएकाले सबै कलाकारहरू पनि महिला नै छन् ।
नाटकमा शुभ्रा रोय, तानया दत्त, तनिमा सिंह रोय, मधुपूर्ण बनेर्जी, दीपा विश्वास, सुस्मिता विश्वास, मनिषा विश्वास, रिमा मण्डल, सञ्चिता हल्देर, पूजा देवनाथ, पायल बराइ, सिर्जन पल र ग्रेसी ओराओनले अभिनय गरेका छन् ।
पौराणिक कालदेखि एक्काइसौँ शताब्दीसम्मको इतिहासमा महिलाहरूले भोग्नुपरेको अपमान, दुव्र्यवहार र चरम बेवास्तालाई नाटकमा मिहीन ढंगले प्रस्तुत गरिएको छ । नाटकमा आगोलाई उल्लेख गर्नुको अर्को अर्थ पीडाको आगो पनि भन्ने बुझिन्छ ।
पीडा मात्रै नभएर रोदनको आगो, विरोधको आगो, प्रेमको आगो र न्यानोपनको आगोलाई झल्काउनेगरी नाटक प्रस्तुत गरियो । उक्त नाटक हेरिसकेपछि विभेदविरुद्व, हिंसाविरुद्व, अन्धकारविरुद्व चेतना जगाउने विश्वास लिएको दर्शकहरूले सुनाए ।
नाटक सकिएपछि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि जसराज किरातीले रंगकर्मीहरूलाई रुद्राक्षको मालासहित सम्मान गरे । निकै बेरसम्म दर्शकदीर्घबाट तालीको आवाज गुञ्जिएको हलले सन्देश दिइरहेको थियो कि, कलाको सीमाना हुँदैन ।
‘अन्तरदेशीय नाटक महोत्सवले एउटा उर्जावान र सकारात्मक सन्देश जाने विश्वास लिएको छु,’ कार्यक्रमका प्रमुख अतिथि किरातीले भने, ‘कला, साहित्य, संगीत भएमात्र आँफू बसेको ठाउँ जीवन्त हुन्छ । यो नाटक महोत्सवले इटहरीलाई जीवन्त राख्ने विश्वास लिएको छु ।’
कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार अब कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् ।
सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।
यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् । यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको छ । दुईदिनसम्म चलेको नाटकमा भने ‘हाउसफुल’ भएको छ ।
कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलोपटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो । प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको कलालयका अध्यक्ष जयन्तीले बताए ।
Discussion about this post