इटहरी : इटहरीमा जारी ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ को दोस्रो दिन सोमबार साँझ नाटक ‘नेता जी !’ प्रस्तुत गरिएको छ ।
कलालय इटहरीको आयोजनामा आइतबारदेखि सुरु भएको नाटकको दोस्रो दिनको तेस्रो आरोहण गुरुकुल विराटनगरद्वारा नाटक ‘नेता जी !’ प्रस्तुत गरिएको हो ।
नाटकले वर्तमान राज्यव्यवस्थाको चित्रण गरेको छ । देशमा रोजगारीको सृजना नहुनु, महंगी दिनानुदिन वृद्धि हुनु, भ्रष्टाचार व्याप्त हुनु, देशमा जताततै असुरक्षा हुनु र यही बीचमा नेताको चाकडी गरिएको दृश्यलाई नाटकमा देखाइएको छ । खासगरी नाटकले वर्तमान अवस्थाको राजनीति र जनताले भोगिरहेको अवस्थालाई चित्रण गरेको छ ।
नेपथ्यबाट झ्याम्टा बज्छ, ठूलो आवाजमा । एकाएक गर्दै कलाकारहरू भेटिन्छन्, मञ्चमा । नाटक प्रस्तुत भइरहेपनि साँच्चिकै दृश्य हो कि भन्ने अनुभूत हुन्छ ।
नाटकअनुसार कलाकारहरूले नाटक गरेपनि पैसा नपाएको र कलाकारमध्येको नेताले आँफूहरूलाई ‘हेपेको’ दृश्य देखाइन्छ । तर, पटकपटक नाटक गर्न कलाकार खोजी गरेपनि कलाकार नभेटिनु र कथा उपयुक्त छनोट हुन नसकिएको दृश्यलाई नाटकमा प्रस्तुत गरिएको छ ।
बेलाबेला चर्को स्वरमा रोजगारी सृजना गर !, भ्रष्टाचार नियन्त्रण गर !, सुरक्षा कायम गर !, महंगी नियन्त्रण गर !, नेता जी मुर्दाबाद !, नेता जी जिन्दावाद ! जस्ता नारा प्रस्तुत हुन्थे । यसबीचमा कलाकारहरूले प्रस्तुत गरेका संवादले दर्शकको ध्यान खिच्यो ।
नाटकमा दीक्षा चौधरी, दीपा पोखरेल, प्रदीप दाहाल, रबिन चिमरिया, निशान राई, अतीत निरौला, नीरज कार्की, समीक्षा दाहाल, अशोक गौतम र सुरेश बिद्रोहीले अभिनय गरेका छन् । नेपथ्यमा सबिन भट्टराई र विकास पराजुली रहेका छन् भने नाटकलाई भरत कार्कीले निर्देशन गरेका छन् । उक्त नाटक आरोहण गुरुकुलले प्रस्तुत गरेको हो ।
मैथिली नाटकार रामभरोस कापडी ‘भ्रमर’को नाटक ‘आवैछेको’ अर्थात् नेताजीले समाजमा भएगरेका समसामयिक विषयवस्तुलाई उठान गरेको छ ।
इटहरीमा आइतबारदेखि सुरु भएको दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्चको पहिलो दिन भने भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए । कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो ।
सोमबार बिहान दमक थियटरको प्रस्तुतिमा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत गरिएको छ । प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको थियो ।
नाटक महोत्सवको अन्तिम दिन मंगलबार (कात्तिक २१ गते) बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ ।
उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् ।
यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।
यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रस्तुत
यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत
Discussion about this post